सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीवार सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्यमा सुर्खेतका चर्चित पर्यटकीय क्षेत्रहरु परेनन् भने नामै नसुनिएका क्षेत्र भने नयाँ गन्तव्यमा परेका छन् । जहाँ पर्यटकहरुको चाप हुन्छ त्यो क्षेत्र गन्तव्यमा नपर्नु र जसको पहिलो पटक नाम सुन्दैछन्, त्यो पर्यकीय गन्तव्यमा पर्नुले आश्चर्य प्रकट गरिएको छ । पर्यटकीय गन्तव्य छनौटमा पनि विभेद भएको महसुस गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै रहेको बुलबुले ताल नयाँ पर्यटकीय गन्तव्यमै परेन । यस्तै जिल्लाकै सवैभन्दा ठूलो ताल बराहताल पनि पर्न सकेनभने सुर्खेतको नगरकोट भनेर चिनिने ऐतिहासिक गढी क्षेत्रपनि नयाँ गन्तव्यमा अटाउन सकेन । तर नामै नसुनिएको गिद्दे डाँडा, मदन आश्रित पार्क भने नयाँ गन्तव्यमा पर्न सफल भएका छन् ।

मन्त्रालयले स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरी दुई वटा गन्तव्य विभाजन गरेको छ । जसमा सुर्खेतका मात्रै आठ वटा परेका छन् । दोस्रो लुम्बिनीको रुपमा परिचित काँक्रेविहार, देउतीबज्यै र मदन आश्रित पार्कलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यमा पारिएको छभने जाजुरा दह, गुप्तीताल, मादले गुफा, शिव गुफा र गिद्देडाँडालाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा मन्त्रालयले पारेको छ ।
मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिका आधारमा एक सय नयाँ पर्यटकीय गन्तव्यहरु छनौट गरेको थियो । सुर्खेतमा काँक्रेविहार, देउतीबज्यै, जाजुरा दहरुलाई पर्यटकीय गन्तव्यको रुपमा पारिनु स्वाभाविक मानिएपनि बुलबुले ताल, बराहताल र ऐतिहासिक गढीलाई नपारिनुमा सरकारले हतारमा निर्णय गरेको र गन्तव्य छनौटमा केटाकेटीपन देखाएको टिप्पणी गरिएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले साविक मध्यपश्चिम र अहिले कर्णाली प्रदेशकै चर्चित बुलबुले ताललाई नयाँ गन्तव्यमा नपारिएकोमा आश्चर्य प्रकट गरे । उनले मन्त्रालयले गन्तव्य छनौटमा पनि विभेद गरेको आशंका गरे । उनले बुलबुले, बराहताल, गढीलाई पर्यटकीय गन्तव्यमै नपार्नुले हतारमा निर्णय गरिएको आरोप लगाए । नयाँ गन्तव्यमा पारिएका गिद्देडाँडा, मदन आश्रित पार्क कहाँ छन्भन्ने आफूलाई नै थाहा नभएको उनको भनाइ छ ।
पछिल्लो पटक बुलबुले तालको स्वरुप फेरिएको छ । शान्ति बाटिका, डुंगा शयर, पानीको फोहोरा, वरिपरि पर्खाललगाउनेलगायतका कामहरु भएको विगतको तुलनामा बुलबुले आकर्षक बनेको छ । एक करोड बढीका लागतमा बुलबुलेको संरचनाको काम भइरहेको अध्यक्ष कोइरालाले बताए । साढे ३१ विगाह क्षेत्रफलमा फैलिएको बुलबुले जिल्लाकै पहिलो गन्तव्यमा पर्नेमा सरकारले नपर्दा दुःख लागेको उनको भनाइ छ ।
यस्तै जिल्लाकै ठूलो ताल बराहताल र सुर्खेतको नगरकोट मानिने गढीमा पनि पर्यटकहरुको भीड लाग्ने गर्दछ । तर यिनै क्षेत्र नयाँ गन्तव्यमा पर्न सक्दा आश्चर्य मानिएको छ । यद्यपि काँक्रेविहार र देउतीबज्यै तथा जाजुरा दहप्रति कसैको विमति छैन । तर गिद्देडाँडा र मदन आश्रित पार्कवारे अनभिज्ञता प्रकट गरिएको छ ।
मन्त्रालयले सुर्खेतसहित कर्णाली प्रदेशमा २१ वटा नयाँ पर्यटकीय गन्तव्यलाई छनौट गरेको छ । सल्यानको कुभिण्डे दह, डोल्पाको से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र त्रिपुरासुन्दरी धार्मिक पर्यटन केन्द्र, जुम्लाको सिंजा सभ्यता, डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका पर्यटकीयस्थल, मुगुको रारा ताल र रारा सेफोक्सुण्डो पदमार्गलाई गन्तव्यमा पारिएको छ ।
यस्तै कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरवार क्षेत्र, रुकुम पश्चिमको गोतामकोट चित्री पाटन साहसिक पदमार्ग र दैलेखको पंचकोशी ज्वाला क्षेत्र र कोतगढी पंचदेवल बेलासपुर महावु पर्यटकीय क्षेत्रलाई पनि नयाँ गन्तव्यमा छनौट गरिएको छ ।
प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार १४:४२