सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माग्ने बानीले कर्णाली प्रदेश गरीव भएको बताएका छन् । उनले गरीवले माग्नुपर्छ भन्ने मानसिकता हावी हुँदा सवैसंग माग्ने बानी परेको र जसका कारण प्रदेश गरीवको रुपमा चिनिएको उल्लेख गरे ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले स्रोत र साधनमा कर्णाली प्रदेश धनी तर मानसिक हिसावमा गरीव भएको बताए । उनले विगतको माग्ने बानी त्यागी आत्मनिर्भर बन्न जरुरी रहेको भन्दै अनिमात्र प्रदेश समृद्धितर्फ लाग्ने जानकारी दिए । उनले जल, जमीन, पर्यटन र जडिबुटीको खानी भएको प्रदेशबासीले अव माग्नुपर्ने अवस्था छैनभन्दै उनले माग्ने बानी छोडेर काम गर्ने बानीको विकास गर्नुपर्ने सुझाव दिए । कर्णाली प्रदेशमा सम्भावनाहरु धेरै भएकोले लगानीकर्ताहरु लगानी गर्न इच्छुक रहेको उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकार गठनको आठ महिनाको अवधिमा निकै राम्रो निर्णय र काम गरेको दावी गर्दै उनले ५ बर्षभित्र समृद्धि कर्णालीको लक्षणहरु प्रष्ट देखापरेको जिकिर गरे । उनले अझैपनि प्रदेश सरकार चलाउन संरचनाको अभाव, बजेटको अख्तियारी नहुँदा, जनशक्ति अभाव र अनुभवको अभावले समस्या थपिएको पीडा दर्शाए ।
कर्णाली प्रदेशको संसद अवरुद्ध हुने कारणहरु पहिल्याइ समाधानको दिशातर्फ गइसकेकोले अव संचालन हुने संकेत उनले गरेका छन् । सांसदहरुले मागेको रातो किताव तयार पारिसकेको, सांसदहरुको सेवासुविधावारे छलफल भइरहेको जानकारी दिदैं उनले अव संसद खुल्ने उनको भनाइ छ । विभिन्न योजनाहरुको सम्झौताहरु नहुँदा बजेट खर्च हुन नसकेको मुख्यमन्त्री शाहीले बताए ।
कार्यक्रममा प्रमुख सचिव रामप्रसाद थपलियाले अहिलेसम्म २७ पटक मन्त्रिपरिषद बैठक बसेको जानकारी दिदैं प्रदेश सरकारले विभिन्न राम्रा निर्णयहरु गर्न सफल भएको दावी गरे । उनले अहिलेसम्म ५५ वटा कानुनी बुँदाहरु तयार भएको, कर्मचारीहरुको अभावले गर्दा काम गर्न कठिनाइ आएको उल्लेख गरे ।
प्रकाशित मिति: २८ आश्विन २०७५, आईतवार १८:०८