काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।
एक सय पाँचौँ बिपी जन्मजयन्तीका अवसरमा काङ्ग्रेस धनकुटा काठमाडौँ सम्पर्क समितिले शनिबार यहाँ आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काङ्ग्रेसको सङ्गठन’ विषयक कार्यक्रममा उनले बिपीको विचारलाई आत्मसात् गरी पार्टी सधैँ जनतामाझ हुनुपर्ने बताए ।
फाइल फाेटाे“बिपीका बारेमा धेरै चर्चा हुने गर्छन्, मानिसको व्यक्तिगत सोचलाई सीमाभित्र नराखेर अघि बढ्ने व्यक्ति बिपी कोइराला हुनुहुन्थ्यो,” उनले भने । नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गरे ।
काङ्ग्रेस धनकुटाका पूर्वसभापति एवम् पूर्वसांसद मनोहरनारायण श्रेष्ठले पार्टी नेतृत्वले समय र विधानअनुसार चल्न नसकेका कारण पार्टी कमजोर भएको बताउँदै “पार्टीभित्र रहेको गुट, उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुँदैन”, भने ।
काङ्ग्रेस धनकुटाका पूर्वसभापति हरि अधिकारीले बिपीको विचार अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै पार्टी नेतृत्वले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
काङ्ग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काङ्ग्रेसको सङ्गठन बलियो हुने बताए ।
प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार ०६:४८