काठमाडौँ । कर्णाली र प्रदेश नं ७ मा विशेष रुपमा मनाइने गौरा पर्व राजधानीमा रहेका प्रदेशवासीले टुँडिखेलमा जम्मा भई देउडा खेलेर मनाएका छन् । प्रशंसा संरक्षण समूहले आज यहाँ आयोजना गरेको गौरा पर्व विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम संस्कृतिमा धनी रहेको बताए ।
‘‘गौराजस्ता मौलिक नेपाली संस्कृतिको संरक्षण हुनुपर्छ, यसका लागि युवा पुस्ताको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने । पश्चिम सेती माथिल्लो तामाकोशीको मोडलमा स्थानीयवासीको शेयरले निर्माण गरिनुपर्ने सभापति देउवाको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विचार फरक भए पनि देशका लागि सबै एकजुट भएर संस्कृति संरक्षणमा जुट्नुपर्ने बताए । अन्यायविरुद्ध एक हुन पनि उनले आह्वान गरे ।
पूर्वउपप्रधानमन्त्री एवं सांसद भीम रावलले पार्वतीको पूजा गरी मनाइने गौरा पर्व मनाउँदा निर्मला पन्तका हत्यारालाई कारवाही हुनुपर्ने बताए । सांसद लेखराज भट्टले सुदूरपश्चिमबाटै नेपाली सभ्यताको विकास भएको स्मरण गरे ।
सांसद दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम क्षेत्रका भाषा एवं भाषिकाको संरक्षण नगरिए संस्कृति नबच्ने भएकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने आवश्यकता औँल्याए ।
पूर्वमन्त्री नारायणप्रकाश साउदले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा सरकारले छानबिन नगरेको आरोप लगाए । घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही हुनुपर्ने उनको माग थियो ।
कार्यक्रममा सांसदद्वय दामोदर भण्डारी र कमला ओली, पूर्वमन्त्री रमेश लेखक, समूहका अध्यक्ष अम्बादत्त भट्ट, महासचिव हरिप्रसाद अवस्थी, कार्यक्रम संयोजक हरिमोहन भण्डारी, संस्कृतिविद् यज्ञराज उपाध्याय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ प्रशिक्षक रामसिंह ऐरलगायतले सुदूरपश्चिमको मौलिक पर्व गौराको प्रभाव देशभर बढ्दै गएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय डा रणबहादुर रावल र विजया केसी श्रेष्ठ, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा हेमराज पन्तलगायतले समाजमा पुर्याएको योगदानको कदर गर्दै नेता देउवाले सम्मान गरेका थिए । सो अवसरमा उपस्थित नेतागणले आपसमा हात समाएर देउडा गाउँदै नाच प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार २०:३१