सुर्खेत । सुर्खेतमा अहिले सम्मकै सवैभन्दा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले मंगलवार वीरेन्द्रनगर ११ सुव्वाकुनाबाट १५.६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिएका छन् ।

नेपालगञ्जबाट सुर्खेत तर्फ आउँदै गरेका तिन वटा मोटरसाइकल भे ४ प ३४२१ नम्बरको मोटरसाईकलमाको लुकिङ् ग्लासमा लुकाई ल्याएको ४ पुडिया २ ग्राम ७८० मिलिग्राम सहित वीरेन्द्रनगर ३ का २९ वर्षीय रमेश कुमार मल्ल, भे ८ प ३७०६ नम्बरको मोटरसाईकलको लुकिङ ग्लासमै लुकाई ल्याउँदै गरेको सोही ठाउँका २४ वर्षीय समिर थापा र २३ वर्षीय यज्ञ सुनारलाई १ पुडिया ब्राउन सुगर सहित पक्राउ गरिएको बताए । त्यस्तै, भे ३ प ४२९४ नम्बरको मोटरसाईकलमा सवार २३ वर्षीय सन्तोष बस्यालले आफ्नो लगाएको स्ल्याक्स (कट्टु) मा लुकाई ल्याएको ९ ग्राम ६९० ब्राउन सुगर सहित सोही मोटर साईकलमा सवार २८ वर्षीय डम्बर बहादुर भण्डारीलाई चेकजाँचका क्रममा पक्राउ गरिएको एसपी रजौरेले जनाए ।

पक्राउ पर्नेलाई थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको उनको भनाई छ । गत आर्थिक वर्षमा ४३ ग्राम लागुऔषध बरामद गरेकोमा यस आर्थिक वर्षको एकै दिन १५.६ ग्राम लागु औषध बरामद गरेको एसपी रजौरेले जानकारी दिए ।
‘यो लागु औषध ब्राउन सुगर जिल्लाको सवै भन्दा ठुलो परिमाण हो ।’ उनले भने,‘प्रहरीले चेकजाँचमा कडाई गरे पनि विभिन्न तौरतरिका बाट लुकाई छिपाई ओसार पसार गरेको देखिन्छ, जसमा अहिले यति ठुलो परिणामको लागुऔषध मोटरसाइकलको लुकिङ ग्लासमा भेटियो, भने व्यक्तिले लगाएको अण्डरवे भित्र लुकाई ल्याएको समेत भेटियो ।’
उत्कृष्ठ काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने
लागु औषध नियन्त्रणमा उत्कृष्ठ काम गर्ने प्रहरी कर्मचारीलाई मासिक पुरस्कृत गरिने भएको छ । जिल्लामा बढ्दै गएको लागुऔषध नियन्त्रणमा थप प्रोत्साहन र प्रहरी कर्मचारीको मनोवल बढाउन पुरस्कृत गर्न लागिएको एसपी रजौरेले जानकारी दिए ।
‘अव लागु औषध नियन्त्रण गर्ने उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेका छौँ ।’ उनले भने,‘प्रहरी कर्मचारीको काम गर्ने मनोवल बढाउन र थप लागु औषध नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले पुरस्कृत गर्न खोजेका छौँ।’
प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार १७:३५