काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बाहरुको पुनर्निर्माणमा प्राधिकरण प्रतिबद्ध भएको बताएका छन् ।
आइतबार संघीय संसदका सदस्यहरु तथा गुम्बासँग सरोकारवाला प्रतिनिधिहरुसँग गुम्बा पुनर्निर्माणबारे छलफल गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माणमा बढी जोड दिनु परेका कारण केही समय गुम्बालगायतका संरचनाहरुको पुनर्निर्माण ओझेलमा परे पनि अब त्यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित गुम्बाहरुले बनाएका नक्सालाई मान्यता दिनुपर्ने प्रतिनिधिहरुको मागप्रति सकरात्मक धारणा राख्दै उनले सरोकारवालाहरुको राय सल्लाहमा सम्पदाको मौलिकता रहनेगरी त्यसलाई अन्तिम रुप दिइने पनि बताए । उनले गुम्बालगायतका सार्वजनिक संरचना निर्माणमा स्थानीय सरकारलाई पनि संलग्न गराउँदै लैजाने प्राधिकरणको नीति रहेको पनि उल्लेख गरे ।
छलफलमा प्रतिनिधिसभा सदस्यत्रय जिपछिरिङ लामा (दोलखा), श्याम कुमार श्रेष्ठ (रामेछाप) र हेम कुमार राई (सोलुखुम्बु), बौद्ध दर्शन विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङ, नेपाल बौद्ध महासंघका अध्यक्ष रिन्छेन लामा, महासचिव कमल भण्डारी, विभिन्न गुम्बाका प्रमुखहरु लगायतको सहभागिता थियो ।
छलफलमा प्राधिकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले गुम्बा पुनर्निर्माणका क्रममा प्राधिकरणले अनुदान उपलब्ध गराउँदा जिल्लाको भौगोलिक अवस्थितिलाई विचार गरिने धारणा राखे ।
भूकम्प प्रभावित जिल्लाका ८ सय ९६ गुम्बा पुनर्निर्माण गर्नुपर्ने सुचीमा छन् । प्राधिकरणले भूकम्प प्रभावित २८ जिल्लाका १ हजार ३ सय २० गुम्बाको अध्ययन गरेको थियो ।
प्रकाशित मिति: १० भाद्र २०७५, आईतवार २०:३६