काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणा क्रान्तिकारी र विद्रोही स्वभावको नेता भएको बताएका छन् ।
नेता स्व राणाको निधनको १३ दिनमा काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा बुधबार आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले स्व भरत शम्शेर सम्भ्रान्त परिवारमा जन्मेर पनि समावेशी शासनको पक्षपाक्षी भएको स्मरण गरे ।
भारतको कोलकत्तामा विद्यार्थीकालमा नै आफ्नो भेट भएको स्मरण गर्दै सभापति देउवाले स्व राणा जातभात र संस्कार नमान्ने क्रान्तिकारी नेता भएको बताए ।
काङ्ग्रेसका पुराना अग्रज नेता राणाको गत साउन २५ गते कोलकात्तामा ९० वर्षको उमेरमा निधन भएको थियो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइराला प्रधानमन्त्री भएको नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले नेता राणा प्रमुख प्रतिपक्षी दलको नेता थिए ।
विसं ०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त काङ्ग्रेसमा विलय गराएका थिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वको कार्यकालमा उनी काङ्ग्रेस केन्द्रीय सदस्य थिए ।
सभामा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्रामा स्व राणाले लेख्नुभएको पुस्तकको प्रभाव र प्रेरणा रहेको स्मरण गरे । राणा प्रधानमन्त्री चन्द्र शम्शेरका पनाति नेता राणाको जन्म मुुलुकको आवश्यकता र आकस्मिकता भएको उल्लेख गर्दै डा भट्टराईले स्व भरत शम्शेरमा विलक्षण प्रतिभा रहेको बताए ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता राणा सदैव अन्यायको विरुद्धमा लड्ने समाजवादी नेता भएको स्मरण गर्दै स्व राणामा सफल नेतृत्वको खुबी रहेको चर्चा गरे ।
वरिष्ठ नेता पौडेलले ठूलो सङ्घर्ष गरेर गोर्खा परिषद् पार्टी स्थापना गरी २०१५ सालको आम निर्वाचनमा पार्टीलाई दोस्रो स्थानमा पुर्याउन सफल भएको भन्दै स्व राणाको प्रशंसा गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्र) का अध्यक्ष पशुपति शम्शेर राणाले काङ्ग्रेस नेता भरत शम्शेर राणा सङ्घर्षशील हक्की स्वभावका भएको स्मरण गर्दै स्व भरत शम्शेरमा प्राकृतिकरुपमै प्रतिपक्षी दलको नेताको स्वभाव रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा स्व राणाका दौतरी हिमालय शम्शेर राणा र कान्छा भाइ सागर शम्शेर राणाले उहाँ सदैव लोकतन्त्रप्रति प्रतिबद्ध प्रजातान्त्रिक समावादी नेता भएको स्मरण गरे ।
प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार २०:१२