सुर्खेत (बावियाचौर), २२ साउन । सुर्खेतको पश्चिम क्षेत्रका बासिन्दाहरुलाई सरकारी सेवा प्रदान गर्नका लागि पञ्चपुरी नगरपालिकाको बावियाचौरमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा एक महिनादेखि ठप्प छ । काजमा आएका कार्यालय प्रमुख प्रकाश न्यौपाने आफ्नो अवधि सकिएको भन्दै गत असार २४ गते काठमाडौं लागेपछि त्यहाँको सेवा ठप्प भएको हो । नागरिकता बनाउनेलगायतका प्रशासनिक कामका लागि त्यहाँका स्थानीयहरु पुनः सदरमुकाम वीरेन्द्रनगर आउनुपर्ने बाध्यता आइलागेको छ ।

२०७३ चैत महिनादेखि बावियाचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी सरकारी सेवा प्रवाह गरिएको थियो । तर कर्मचारी नै नभएपछि इलाका प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । आवश्यक कर्मचारी नहुँदा इलाका प्रशासनमा सेवा नै बन्द भएको छ । अधिकृत स्तरको कार्यालय प्रमुख नहुँदा असार २४ गतेदेखि इलाका प्रशासन कार्यालयबाट हुने दैनिक कामकाज ठप्प भएको छ । प्रमुख नहुँदा नागरिकता बनाउने, सिफारिस र आवश्यक अनुगमनलगायतका प्रशासनिक काम ठप्प भएको इलाका प्रशासनका कार्यालय सहयोगी मिलनकुमार विष्टले बताए । उनका अनुसार प्रमुख नभएपछि दैनिक १० देखि १५ जना नागरिकता बनाउने सेवाग्राही फर्किएका छन् ।
कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह रोकिएपछि कर्मचारीहरु पनि कामविहीन बनेका छन् । कार्यालय सहयोगी विष्टका अनुसार कार्यालय प्रमुख नहुँदा आएका सेवाग्राहीहरु फर्किएर गएका छन् । अत्यावश्यकीय सरकारी कामका लागि पुनः चार घन्टा गाडीबाट हिंडेर सदरमुकाम आउनुपर्ने बाध्यता आएको छ । कार्यालय प्रमुखसहित सुव्वा तीन जना, लेखापाल एक जना, अप्रेटर एक जना र कार्यालय सहयोगी एक गरी सात जनाको दरवन्दी सो कार्यालयमा हो ।
पश्चिम सुर्खेतका साविकका ११ वटा गाविसका बासिन्दाहरुलाई प्रशासनिक सरकारी सेवा सहजरुपमा प्रदान गर्नका लागि स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती थपिएको स्थानीय तिलकराम अधिकारी बताउँछन्। उनले जतिसक्यो छिटो अर्को कार्यालय प्रमुख पठाई सरकारी सेवा सहज सुचारु गर्न माग गरे ।
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने साउन महिनाभर त्यहाँको अवस्था त्यस्तै रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले भदौदेखि कर्मचारी हाजिर हुनसक्ने बताए । अहिले इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सरकारी सेवा ठप्प भएको स्वीकार्दै कर्मचारी नहुँदा यो समस्या आएको उल्लेख गरे । केन्द्रमा छिटो कर्मचारी पठाउन माग गरिएको र अहिलेसम्म सुनुवाई नभएको प्रजिअ कार्कीले बताए । उनका अनुसार सम्भवतः भदौदेखि कर्मचारी आउने र सेवा पुनः सुचारु गरिनेछ ।
इलाका प्रशासनले नागरिकता बनाउने, मतदाता नामावली बनाउने, अद्यावधिक गर्ने, सिफारिस गर्ने, अनुगमन गर्नेलगायका काम हुदैं आएको थियो । तर हाल कार्यालय प्रमुखसहित पर्याप्त दरवन्दी नहुँदा इलाकाको सम्पुर्ण सेवा बन्द भएको छ ।
प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलवार १५:५५