सुर्खेत, ८ जेठ । सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिन सम्पन्न ३ वटा खेलहरुमा महाकाली क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब र मध्य-पश्चिम क्रिकेट क्लब बिजयी भएका छन् ।
आजको खेलहरु पछि अंक तालिकाको समुह ए मा रुपन्देही ११ ३ खेलमा ३ जित सहित शिर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ३ खेलमा २ जित र १ हार सहित ४ अंक तथा ४ वटा खेल खेलेको टिकापुर क्रिकेट क्लबको ४ खेल खेल्दा २ जित र २ हार सहित ४ अंक रहेको छ। यस्तै समुह बि मा धनगढी क्रिकेट एकेडेमी ३ खेलमा जित सहित ६ अंक शिर्ष स्थानमा रहेको छ भने मध्य-पश्चिम क्रिकेट क्लबको ४ खेलमा ३ जित र १ हार सहित ६ अंकनै रहेको छ ।
पहिलो खेल –
दिनको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो । उसको लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन योगदान दिए । बलिंगतर्फ पारस केसी र महेन्द्र सावदले समान २र२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिंग गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए ।

१२३ रन लक्ष्य महाकालीले १७-१ ओभरमा ६ विकेट पुरा गर्यो । उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए । बलिंगतर्फ भेरिगंगाका शिभ डाँगी र तिलक थापाले २-२ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए ।
दोश्रो खेल –
आजै सम्पन्न दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा २ विकेट मात्रै गुमाएर २२६ रनको बिशाल योगफल तयार गरेको थियो ।
आर्मीको लागि प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सागर पुनले अविजित १०२ रन बनाए जुन क्रममा उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे । बिनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए ।

२२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । आर्मीका बलर सुसन भारि र जितेन्द्र मुखियाले समान ३-३ विकेट हात पारे भने राजेश पुलामीले २ विकेट हात पारे । टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खेलको प्लेयर अफ द म्याच सागर पुन घोषित भए ।
तेश्रो खेल –
आजै सम्पन्न तेश्रो खेलमा मध्य(पश्चिम क्रिकेट क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई ६ विकेटले पराजित गर्यो ।
टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाउन सक्यो। उसको लागि कप्तान बिपिन आचार्यले सर्वाधिक ४३ रन बनाउन ५० बलमा ४ चौका प्रहार गरे। मध्य-पश्चिमका बलर अमर सिंह रौटेला एक्लैले ५ विकेट तथा सुनिल सुनार, दीपेन्द्र रावत र अविनाश बोहराले समान १-१ विकेट हात पारे ।
१०७ रनको लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले १३-४ ओभरमा लक्ष्य भेटायो । उसको लागि ओपनिंग ब्याटिंग गरेका राजबिर सिंहले सर्वाधिक अविजित ६१ रन बनाए जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । यस्तै सिद्धान्त राज शाहीले ३८ रन बनाउन ३० बलमा ७ चौका प्रहार गरे ।

काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बलर प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पारे ।
खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए ।
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १९:२१