सुर्खेत, २ जेठ । आगामी तीन बर्षभित्र कर्णाली प्रदेशलाई विभेदमुक्त बनाउने प्रतिवद्धता जनाइएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलसहित, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतले बुधवार सम्पन्न साझा मञ्चको कर्णाली प्रदेश सम्मेलनमा सो प्रतिवद्धता जनाएका हुन् । सात बुँदे प्रतिवद्धता अनुसार कर्णाली प्रदेशमा निजी तथा सार्वजनिक स्थानहरुमा अझै पनि जातीय विभेद तथा छुवाछूत व्यवहार भइरहेकोले सो प्रथा हटाउन र पीडितलाई सहज तथा छिटो कानुनी उपचार र क्षतिपूर्ति दिलाउन र पीडकलाई कडा कारबाहीको दायरामा ल्याउन, दलितहरुको सामाजिक, आर्थिकलगायत चौतर्फी विकासका लागि आवश्यक नीति नियम, कानुन निर्माण र कार्यक्रम तयार गर्न गराउने प्रतिवद्धता सम्मेलनले गरेको छ ।

यसैगरी जातीय भेदभाव तथा छुवाछूत विरुद्ध अभियान संचालनका लागि आवश्यक स्रोत साधनसहित कार्यक्रम तयार गरी कार्यान्वयन गर्न गराउन, विभेद उन्मूलन कार्यको नियमित सुपरीवेक्षण तथा अनुगमन गर्न, नेपाल सरकार, प्रदेश सरकार र अन्य संघसंस्थाहरुको विकास कार्यक्रम र कार्यान्वयनमा दलितको समानुपातिक प्रतिनिधित्व गराउन, नेपालको संविधानमा उल्लेख भएका जातीय विभेदसम्वन्धी सवै कानुनहरु इमान्दारीपूर्वक कार्यान्वयन गराउन र २०६४ सालदेखि सुर्खेतमा अलपत्र अवस्थामा रहेको दलित छात्रबास निर्माणका लागि एक जुट हुने प्रतिवद्धता जनाइएको छ । सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले सामाजिक विकासका लागि दलित, गैरदलित सवैको बराबरी भूमिका हुनुपर्ने बताए । उनले दलितहरुको अधिकार प्राप्तिका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी पनि दिए । साझा मञ्चका अध्यक्ष बसन्त विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि सामूहिक प्रयासको आवश्यकता भएकोले संघीय, प्रदेश र स्थानीय सरकारले त्यसको पहल गर्नुपर्नेमा जोड दिए । उनले विकासका हरेक कार्यक्रममा दलितहरुलाई अनिवार्य सहभागिता गराइनुपर्ने माग गरे ।
सो अवसरमा मानवअधिकार, सामाजिक न्याय र विभेद विरुद्धको पैरवी अभियानमा योगदान दिने सुर्खेतका आठ जनालाई सम्मान गरिएको छ । लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक, सामाजिक अभियन्ता तिलकराम अधिकारी, सुर्खेतका निमित्त ट्राफिक प्रहरी इन्चार्ज कवि सेन्चुरी, दलित अगुवा विमल नेपाली, कलाकार कुलमान नेपाली र पत्रकारहरु ललित बसेल र टेकेन्द्र विश्कर्मालाई सम्मान गरिएको छ । त्यसैगरी सम्मेलनबाट बसन्तकुमार विश्वकर्माको अध्यक्षमा १७ सदस्यीय कर्णाली प्रदेश तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा हिरा सुनार, सचिव रमेश नेपाली, कोषाध्यक्ष सजना सुनार, सहसचिव दिलिप विश्वकर्मा, सदस्यहरु झलक विश्वकर्मा, बालकृष्ण महर, खेमराज सोनी, हिरे सुनार, रेशम सेन्चुरी, भूमिका परियार तथा मनोनित सदस्यहरुमा नवेन्द्र नेपाली, मोतिराम विक, अमर बुमी, बलिचन्द्र विक, गोपाल विक र चन्द्रबहादुर नेपाली रहेका छन् ।
प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार १८:२८