काठमाडौं, २६ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा विद्यमान चरम गरिवी र भोकमरीको अन्त्य गर्ने दिशामा बजेट केन्द्रित हुने बताएका छन् ।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता बुधबार संसदमा पेश गर्दै प्रदेश र स्थानीय तहको पूर्वाधार निर्माणमा जोड दिएर बजेट विनियोजन गर्ने पनि स्पष्ट पारे । उनले दु्रत आर्थिक वृद्धि गर्न उच्च मात्रामा लगानी परिचालन, उत्पादनको संरचनामा परिवर्तन तथा साधन विनियोजनमा कुशलता ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।
अर्थमन्त्री खतिवडाले लोककल्याणकारी राज्यको स्थापनामा बजेटका विशेष जोड दिने पनि बताए । उनले सबै नेपालीलाई क्रमशः सामाजिक सुरक्षाको दायरामा ल्याउने नीतिलाई बजेटले सम्बोधन गर्ने पनि बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक, सहकारी र निजी क्षेत्रबीचको सहकार्य र समन्वयमा दिगो र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नीति आगामी आर्थिक वर्षको बजेटले लिने पनि बताए । उनले संघीयताको कार्यान्वयनका लागि तीन वटै तहका सरकारहरुबीच उच्चतम एकता, समन्वय र सहयोगमा जोड दिने पनि बताए ।
अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणलाई पनि बजेटले प्राथमिकता दिने बताए । उनले आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरुलाई सक्षम र प्रभावकारी बनाउन पनि बजेटले विशेष ध्यान दिने बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक क्षेत्रहरुको सेवा प्रवाह गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा घटाउने, बजेट प्रणालीलाई सुधार गर्नेलगायतका योजना पनि अघि सारे । उनले आगामी आर्थिक वर्षको बजेटले सरकारी र निजी विद्यालयहरुमा रहेको शैक्षिक भिन्नता अन्त्य गर्ने दावी पनि गरे । सरकारले आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्दैछ ।
प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार १८:३१