सुर्खेत, १८ बैशाख । कर्णाली प्रदेशको चालु पहिलो अधिवेशनको मंगलवारदेखि अन्त्य गरिएको छ । कर्णाली प्रदेश सरकारले पहिलो अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयलाई गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र प्रदेशसभामा पठाइएको थियो । मंगलवारको प्रदेशसभाको २२ औं वैठकमा प्रदेश प्रमुखको कार्यालयबाट २०७५ बैशाख १८ गते राती १२ बजेदेखि प्रथम अधिवेशन अन्त्य भएको पत्र बाचन गरेर सुनाएका थिए ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन गत माघ २१ गतेदेखि सुरु भएको थियो । पहिलो अधिवेशनमा २२ वटा बैठक बसेका छन् । पहिलो अधिवेशनले प्रदेशको नाम कर्णाली, र राजधानी सुर्खेतको वीरेन्द्रनगर सहमतिबाट तोक्न सफल भएको छ । यस्तै प्रदेशसभा नियमावली, चार वटा संसदीय समिति गठन, सरकारको नीति तथा कार्यक्रम, चालु आर्थिक बर्षको चार महिने बजेट पारित पहिलो अधिवेशनमा भएको सभामुख राजबहादुर शाहीले बताएका छन् ।
पहिलो अधिवेशनको समापन मन्त्व्य दिदैं एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशसभाले गरेका महत्वपूर्ण निर्णयहरुमा सत्ता पक्ष र प्रतिपक्ष नभएकोले आगामी दिनमा पनि यसैगरी अगाडि बढ्न आग्रह गरे । उनले अवको दोस्रो अधिवेशन अहिलेको अस्थायी सभाबाट होइन स्थायी संसद भवनबाट संचालन गर्न सचिवालयको ध्यानाकर्षण गराए ।
नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीले जनशक्ति, पूर्वाधार र स्रोतसाधनको अभावबाटै पहिलो अधिवेशनले आशातीत उपलव्धी हासिल गर्न सफल भएको दावी गरीनभने कांग्रेसका सचेतक हिमबहादुर शाहीले पहिलो अधिवेशनमा प्रदेशसभाले जे जति गर्न सक्यो, त्यो नै महत्वपूर्ण उपलव्धी भएको जनाए ।
पहिलो अधिवेशन अन्त्य हुन अघि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको आकस्मिक कोष संचालन विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकमाथि प्रदेशसभा सदस्यहरु विन्दमान विष्ट, ठम्मर विष्टले धारणा राखेका थिए । यद्यपि सो विधेयक पारित हुन सकेन ।
प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलवार १९:०६