सुर्खेत, १२ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुरा मात्र सीमित नभई आफुहरु परिणाम मुखी काम गरेर देखाउनका लागिपरेको बताए । कर्णाली प्रदेशको विकासको लागि मुख्य योजना पारदर्शी नीति बनाई लगानी भित्र्याउँने र केन्द्रीय सरकारसंग आर्थिक विकासका लागि प्राथमिकतामा राख्न पहल गर्ने समेत बताए ।
तस्विर: सन्तोष श्रेष्ठ,सुर्खेत
सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै कर्णाली प्रदेशमा स्थापना गर्न सकिने उद्योग, कृषि, जडीबुटी प्रशोधन, हाइड्रोपावर लगायतका आयोजनाहरु निर्माण गर्न सरकार दृढसंकल्प भएर लागेको मुख्यमन्त्री शाहीले बताए ।
त्यसैगरी कार्यक्रममा अर्थमन्त्री प्रकाश ज्वालाले व्यापारीहरु मुनाफा कमाउन तयार रहेको र सरकार प्रदेशको समृद्धिका लागि लगानी खोजिरहेको उल्लेख गर्दै आफूहरु लगानी मैत्री नीति बनाएर निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढन चाहेको बताए ।
कर्णाली प्रदेशको आर्थिक विकास गर्न उद्योग वाणिज्य महासंघको आयोजनामा वीरेन्द्रनगरमा आर्थिक बहस संचालन गरिएको छ ।
प्रदेशलाई समुन्त गराउन गरिएको बहसमा आफ्नो धारणा राख्दै महासंघकी अध्यक्ष भवानी राणाले प्रदेश सरकारले जडिबुटी प्रशोधन नगरी भारु पैसा कमाई रहेको र प्रशोधन गरी विक्री गरे डलर कमाउन सकिने उल्लेख गरिन् ।

महासंघकी अध्यक्ष राणाले पयर्टक आकर्षणका केन्द्र सुर्खेतको काँक्रेविहार देखि मुगुको रारा ताल र डोल्पाको शे–फोक्शुण्डो र उपल्लो डोेल्पामा ट्रेकिङ्ग व्यवसाय संचालन गर्न सकिने बताइन् । उनले कर्णाली प्रदेशमा लगानी गर्न धेरैले इच्छा जाहेर गरेको हुँदा प्रदेश सरकारले लगानी मैत्री नीति र वातावरण ल्याइदिन मुख्यमन्त्रीलाई आग्रह गरिन् ।
प्रादेशिक आर्थिक बहस कार्यक्रममा बोल्दै कर्णाली प्रदेशको नेकपा एमालेका संसदीय नेता यमलाल कंडेलले प्रदेशको विकासका लागि इमान्दारी पूर्वक तयार हुने हो भने योजना गत निति निर्माण गरी त्यहीअनुसार अघि बढ्न सुझाव दिएका थिए ।
बहस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका डा. नारायण पौडेलले कर्णाली प्रदेशमा के–कस्ता उद्योगहरु स्थापना गर्न सकिन्छ र त्यसका लागि सरकारले के गर्नु पर्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा स–साना उद्योगहरुदेखि ठुलो उद्योग, कृषि उत्पादन, वन व्यवस्थापन, स्थानीय जातका अन्न बाली र तरकारी उत्पादनमा जोड दिएर जनताको जीवनस्तर वृद्धि गर्न र प्रदेशको विकास गर्न सकिने कुरा उल्लेख गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य हिमबहादुर शाही, नयाँ पत्रिकाका अध्यक्ष कृष्णज्वाला देवकोटा लगायतले देश संघीयतामा गइसकेपछि प्रदेशहरुको विकासका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा छलफल बहस शुरु भएको बताएका थिए।
कार्यक्रममा कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले प्रदेशमा विद्यमान समस्या र सम्भावनाका बारेमा आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: १२ चैत्र २०७४, सोमबार २०:३५