सुर्खेत, ९ चैत । सुर्खेत जिल्लाको बराहताल गाउँपालिका ४ मा रहेको बराहतालको प्रचारप्रसार गर्न गाउँपालिकाले यही चैत २३ गतेदेखि २७ गतेसम्म वडा नम्बर ४ तरंगाको भेरी नदी तिरमा बराहताल कृषि तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको छ ।
विहीबार पत्रकार सम्मेलन गरी गाउँपालिकाका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक तेजबहादुर बस्नेतले जिल्लाकै सवैभन्दा ठूलो ताल भएरपनि प्रचारप्रसार हुन नसकी ओझेलमा परेकोले आन्तरिक पर्यटकहरुलाई भित्र्याउन महोत्सवको आयोजना गर्न लागिएको बताए । उनले तालका साथै नयाँपानी गुफा, प्राचीन कुम्भिकोट दरवार, ऐतिहासिक ताईथापे ढुंगा र सिद्धपाइलाजस्ता महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलहरु पनि रहेको हुँदा महोत्सवले त्यसको प्रचारप्रसारमा सघाउने जानकारी दिए ।
महोत्सवले होमस्टेमार्फत पर्यटन र रोजगारीको सिर्जना गर्ने, स्थानीय उत्पादन, कला संस्कृतिको प्रदर्शन र स्थानीय बस्तुको बजारीकरण पनि गरिने दावी आयोजकले गरेको छ । महोत्सवमा भेरी नदीको ¥याफ्टिङ, वोटिङ, कुम्भिकोट टावर दृश्यावलोकन, नृत्य, दोहोरी गीत, भलिवल, कराँतेजस्ता विविध कार्यक्रम गरिनेछ ।
३२ लाख खर्च हुने अनुमान गरिएको महोत्सवका लागि गाउँपालिकाले २० लाख लगानी गर्नेछ । महोत्सव लगाएर आम्दानी गर्नेभन्दा पनि बराह तालको प्रचारप्रसार गराउनु नै मुख्य उद्देश्य रहेको अध्यक्ष बस्नेतले जानकारी गराएका छन् ।
प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार ११:५३