सुर्खेत, ७ चैत । नगरप्रमुख देवकुमार सुवेदीले शिक्षा ऐनले प्रत्येक वडामा नमूना विद्यालय स्थापना गर्न बाटो खुल्ने बताएका छन् । नगरका प्रत्येक वडामा सामुदायिक विद्यालयलाई समेत स्तरोन्नति गरिने बताए ।
बुधबार देखि सुरु भएको नगरसभा पछि पत्रकारहरुसँग कुरा गर्दै नगर प्रमुख सुवेदीले सामुदायिक विद्यालयका शिक्षकहरुले राजनीति गर्न पाउने की नपाउने ? शिक्षक पार्टीमा बस्न पाउने की नपाउने भन्ने बारेमा पनि छलफल गर्न लागिएको जानकारी दिए ।
कृषिलाई कुन स्थान दिने र यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारे पनि छलफल गरिने प्रमुख सुवेदीले बताए बताए । उनले सुर्खेत उपत्यकामा अव्यवस्थित रुपमा हुने जग्गा प्लटिङलाई रोक्नका लागि नगरपालिकाले नीति ल्याउने योजना रहेकोे बताए ।
वीरेन्द्रनगर नगरपालिकाको बुधबार देखि शुरु भएको नगरसभामा ५ वटा विद्येयक प्रस्तुत गरिएको छ । सभामा नगर उपप्रमुख मोहनमाया ढकालले प्रशासकीय कार्यविधि, शिक्षा, सहकारी, कृषि, न्यायिक समिति विद्येयक प्रस्तुत गरेकी थिइन् ।
उपप्रमुख ढकालले विद्येयक प्रस्तुत गर्दै स्थानीय सरकार ९/१० महिनासम्म आईपुग्दा ऐन नियमको अभावमा पनि जनताले सोचे बमोजिमका काम हुन नसकेको बताउँदै विद्येयक अधिवेशनका रुपमा दोश्रो नगर सभा गरिएको जानकारी दिइन् । उपप्रमुख ढकालले प्रस्तुत गरिएका ५ वटा विद्येयक शिक्षा, कृषि, सहकारी लगाएतका कुराहरुलाई व्यापक छलफल गदै अगाडि बढाई कार्यान्वयन गरिने बताइन् ।
सभामा नगर सदस्य रामकुमारी थापाले वीरेन्द्रनगरलाई नमूना नगर बनाउने चाहना रहेको बताउँदै, जनताका पक्षमा ऐन कानून बन्ने आशा व्यक्त गरेकी थिइन् । सदस्य टोपबहादुर रास्कोटीले विगतका वैठकहरुमा भएका निर्णय कार्यान्वयन भए नभएको बारे पनि सभामा छलफल गरिने बताए ।
प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार १४:५२