सुर्खेत, ६ चैत । वीरेन्द्रनगर नगरपालिकाले प्रत्येक वडाहरुमा प्राविधिक शिक्षालय बनाउने योजना अघि सारेको छ । बुधबार देखि शुरु हुने नगर सभा एवं विद्येयक अधिवेशन मार्फत सो योजना ल्याउन लागिएको हो ।
वीरेन्द्रनगरमा नगरपालिकाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरको भावी योजना बारे जानकारी गराउँदै नगर प्रमुख देवकाुमार सुवेदीले सर्वसाधारणको चाहना अनुसार जिल्लाका प्रत्येक वडामा प्राविधिक शिक्षालय बनाउने योजना भइरहेको नगरप्रमुख देवकुमार सुवेदीले जनाएका छन् । उनले एउटा वडामा एउटा नमूना विद्यालय गराउने योजना रहेको बताए ।
नगरप्रमुख सुवेदीले नगरका प्रत्येक वडामा सामुदायिक विद्यालयलाई समेत स्तरोन्नति गरिने बताए । नमूना विद्यालयका लागि सामुदायिक विद्यालयमा अङग्रेजी माध्यममा विद्यार्थी कमजोर हुने कारणले गर्दा प्रत्येक सामुदायिक विद्यालयमा अङग्रेजी माध्यममा पठन–पाठनको राम्रो व्यवस्था गराइने नगर प्रमुख सुवेदीले जनाए ।
यस्तै नगरपालिकाको दोश्रो सभा तथा विधेयक अधिवेशन बुधबारदेखि शुरु हुने नगर प्रमुख सुवेदीले जानकारी दिएका छन् । विशेषगरी नयाँ ऐन, नियम, कानून र निर्देशिका बनाउँन तथा चालु आर्थिक वर्षका नीति, कार्यक्रम र वजेटको समिक्षा गर्न अधिवेशन हुन लागेको हो ।
गत असारमा भएको नगर सभाले बनाएका योजनाहरुको समिक्षा गर्दै आगामी वर्षको लागि समेत छलफल गरिने प्रमुख सुवेदीले बताए । सभामा आठ वटा ऐजेन्डाहरु पेश गर्ने भएको छ ।
प्रशासकीय कार्यविधि सम्बन्धी विधेयक, शिक्षा ऐन, सहकारी ऐन, कृषि प्रवद्र्धन ऐन र न्यायिक समिति कार्यसम्पादन विधेयक लगायत गरी आठ वटा ऐन तथा विधेयक पास गरिने कार्ययोजना रहेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनले अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरु तयार गरी क्रियाशील गरिएको बताइन् ।
प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलवार १७:५१