काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रको सडक निर्माणमा ढिलाई भईरहेकोमा डिभिजन सडक कार्यालयको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

नेता सिंहले सोमबार बिहान मिन भवनस्थित डिभिजन सडक कार्यालयका पदाधिकारीसँग भेटगरी काठमाडौं क्षेत्र नम्बर १ को सडक निर्माणमा ढिलाई भईरहेकोमा गम्भिर ध्यानाकर्षण गराएका हुन् । त्यस अवसरमा उनले ढल, विद्युत, टेलिफोन, खानेपानीलगातयका निकायसँग आवश्यक समन्वय गरेर कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए । धूलो नउड्ने गरी सडक निर्माणको काममा तीव्रता दिन डिभिजन सडक कार्यालयको ध्यानाकर्षण गराउनु परेको नेता सिंहले जानकारी दिए ।
यता, डिभिजन सडक कार्यालयले भने विद्युत र ढलले सहयोग नगरेका कारण सडक निर्माणको काममा ढिलाई हुन गएको स्पष्टिकरण नेता सिंहलाई दिएको थियो । डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले विद्युत र ढलले सहयोग नगरेका कारण सडक निर्माणको काममा ढिलाई हुन गएको स्पष्टिकरण दिएका हुन् । उनले पूर्व सूचनाविना नै सडक निर्माणको काम भईरहेको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता पनि नेता सिंहसामू व्यक्त गरेका थिए ।
काठमाडौंमा सडक निर्माणको काममा अस्तव्यस्त भईरहेका बेला काँग्रेस नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको सडक निर्माणको काममा ढिलाई नगर्न सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएका हुन् । विद्युत, ढल, खानेपानी, टेलिफोनलगायतका निकायसँग आवश्यक समन्वय हुन नसक्दा काठमाडौंको सडक निर्माणको काम अस्तव्यस्त हुँदै गएको विभिन्न अध्ययन प्रतिवेदन पनि औंल्याएको छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार १२:१३