सुर्खेत, २२ फागुन । वीरेन्द्रनगर नगरपालिकाका आशिष रेग्मीलाई राष्ट्रिय वाणिज्य बैंकको शाखामा चेक साट्न २ घण्टा लाग्यो । ‘दिउँसो भीडभाड हुने ठानी १० बजे नै बैंकमा पुग्दा पनि भीड भइसकेको रहेछ । ५० जना पछाडि लाइनमा बस्नुप¥यो,’ उनले भने ।
आइतबारदेखि शुक्रबारसम्म बैंकमा भुक्तानी वा रकम जम्मा गर्न जो कोही पनि २ घण्टासम्म लाइनमा अनिवार्य बस्नै पर्छ । ‘थोरै रकम वा धेरै रकम जतिको भए पनि भुक्तानी लिन लाइनमा नबसी हुँदैन’, उनले भने ‘पालो पाउनै गाह्रो भएको छ ।’
आशिष जस्तै राष्ट्रिय वाणिज्य बैंक पुगेकी भेरीगंगा नगरपालिकाकी देवि सुनारले पनि आफु बैंकमा १२ बजे आएको र ३ बजिसक्दा पनि पालो नआएको गुनासो गरिन् । बैंक भन्दा घर टाढा भएकाले आज पालो आउँछ की आउँदैन भन्ने चिन्ता छ उनलाई ।
उनले भनिन् ‘घर टाढा छ झन छिटै पालो आउला भनि घरबाट बिहानै आए, बैंक आउँदा १२ बजिसकेको थियो, ३ घण्टा भयो बसेको अहिले सम्म पालो पाइएको छैन’ । अनुहारमा निराशपन झल्काउँदै देविले भनिन् ‘के थाहा भोली फेरी आउनु पर्ने हो की?’ आशिष र देवि जस्तै सर्वसाधारण, शिक्षक र कर्मचारी पनि लाइनमा बसेरै कारोबारका लागि कुर्नुपर्छ ।
बैंकले जम्मा गर्ने, भुक्तानी लिने र अन्य कारोबार गर्नका लागि बेग्लाबेग्लै काउन्टरको व्यवस्था गरे पनि सधैं भीड नै हुन्छ ।
यता बाणिज्य बैंक सुर्खेतले भने ग्राहकको थामिनसक्नुको चाप व्यवस्थापन गर्न कठिन भएको जनाएको छ । बैंकले वीरेन्द्रनगर सुर्खेतमा मात्रै अर्को शाखा स्थापना गर्न आवश्यक देखिएको बताएको छ । बैंकका सूचना अधिकारी लिलाराम ढुंगानाले कर्मचारी कम हुनु र बैंकले सेवाहरु थप गर्दै जानुले ग्राहकको चाप बढेको बताउँछन् ।
बैंक आफैले कर्मचारी राख्न नसक्ने र लोकसेवा आयोगले कर्मचारी पठाउन ढिलो गर्दा ग्राहकहरुलाई काम ढिलो प्रवाह गरेको देखिने उनको भनाइ छ । १२ घन्टा काम गर्दा पनि ग्राहकको चाप उस्तै भएको हुँदा वीरेन्द्रनगर बजारमा मात्रै बैंकको अर्को शाखाको आवश्यकता देखिएको सूचना अधिकारी ढुंगानाले बताए । ग्राहकहरुको विश्वास बाणिज्य बैंकमै भएकोले चाप बढेको उनले जनाए ।
प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलवार १७:१२