काठमाडौँ, २२ फागुन । संघीय समाजवादी फोरम नेपालका सांसद उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरि संविधान संसोधन गर्न सरकारलाई सुझाव दिएका छन् ।
संविधानमा गम्भीर किसिमका त्रुटी रहेको भन्दै उनले सबै समुदायले स्वीकार्न सक्ने गरि संसोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले मेरो संविधान हो भनी सबैले गौरव र गर्व गर्ने ढंगले संविधानलाई संसोधन गर्दे लैजानुपर्ने बताए । संघीयता, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता लगायत केही महत्वपुर्ण विषय हुदा हुदै संविधानले मुलुकभित्रका विविधि समुदायको दृष्टिकोण अटाउन नसक्दा त्रुटी भएको उनको तर्क थियो ।
अत्यन्तै मुनाफामा रहेका सरकारी उद्योगहरु उदारवाद र निजीकरणको नीतिले बेचिएर बन्द भएको भन्दै उनले ति उद्योगलाई पुन संचालनमा ल्याउनुपर्ने बताए । त्यसैगरी नयाँ ढंगले भु उपयोग नीति ल्याएर कृषियोग्य जमिनलाई भुमाफियाकरणबाट बचाउदै कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।
साथै उनले भ्रष्टाचार र कमिसन तन्त्रको अन्त्य गरि विधिको शासन कायम गर्नु आवश्यक रहेकोमा जोड दिए । बैध पैसा भन्दा अबैध पैसाले बजारलाई नियन्त्रण गरिरहेको भन्दै उनले सरकारले त्यसलाई रोक्नुपर्ने बताए ।
बैठकमा स्वतन्त्र सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल र राजेन्द्र लिङ्देनले संसदलाई बहुमतको थलो नबनाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनीहरुले भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न सभामुख मार्फत सरकारको पनि ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियतमा रहेकी पौडेल राष्टिय जनमोर्चा,सुवाल नेपाल मजदुर किसान पार्टी र लिङ्देन राष्ट्रिय प्रजान्त्र पार्टीबाट निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलवार १६:११