काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ ।
होटल याक एन्ड यतीमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताएकाे उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणको अन्त्य भएको स्पष्ट पारेका थिए । उनीहरुबीच क्षेत्रीय र द्विपक्षीय हितका विषयमा पनि खुलेर छलफल भएको सल्लाहकार रिमालले जानकारी दिए । उनले भने,“हामीले द्विपक्षीय चासो र हितका साथै आर्थिक विषयमा छलफल गर्यौँ ।”
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का विषयमा भएका छलफलबारे सल्लाहकार रिमालले भने,“सार्क हामी सबैको पहलमा स्थापना भएको हो, त्यसको महत्व अझै बाँकी छ, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छाैँ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ ।”
सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा उनीहरुको जोड रहेको सल्लाहकार रिमालले बताए । भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निम्तो दिएकामा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मित्र राष्ट्र पाकिस्तानको भ्रमण गर्ने जवाफ दिएका थिए ।
बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सल्लाहकार रिमालले जानकारी दिए ।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी तथा पाकिस्तानका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव, नेपालका लागि पाकिस्तानी राजदूतसहित उच्च अधिकारीको सहभागिता थियो ।
प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलवार ०८:३१