सुर्खेत, ३ फागुन । प्रदेश नं. ६ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।
विहीवार अपरान्ह साढे ४ बजे शाहीले मुख्यमन्त्रीमा ३२ जना प्रदेश सांसदसहितको दावीपत्र प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष बुझाएपछि त्यसलगत्तै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । शाहीको सपथ ग्रहण भने शुक्रवार ३ बजे गरिने तय भएको छ ।
मुख्यमन्त्रीको दावीपत्र पेश गर्नका लागि शाहीसहित एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रकाश ज्वालालगायत सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालय पुगेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय सहमति अनुसार प्रदेश नं. ६ को मुख्यमन्त्री माओवादी र सभामुख एमालेले लिने भएको थियो ।
सभामुखमा एमालेका राजबहादुर शाही चयन भइसकेका छन् । एमालेले प्रदेशमा सवैभन्दा ठूलो दल भएको भन्दै प्रदेशको नेतृत्व एमालेले नै गर्न पाउनुपर्ने शर्त सुरुदेखि नै राखेको थियो । साथै मुख्यमन्त्रीमा पनि आलोपालो हुनुपर्ने नयाँ शर्त राख्दा मुख्यमन्त्री नियुक्ति प्रक्रियामा ढिलाई भएको थियो । विहीवार दिनभर एमाले र माओवादी केन्द्रका नेताहरुवीच छलफल गरिएको थियो ।
एमालेले आलोपालो गर्नुपर्ने शर्त माओवादीले स्वीकार गरेको थिएन । माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले केन्द्रीय सहमति अनुसार नै माओवादीलाई मुख्यमन्त्रीमा एमालेले समर्थन गर्नुपर्नेमा उल्टै आलोपालो प्रस्ताव राखेपछि केही असमझदारी उत्पन्न भएको बताए ।
अन्ततः केन्द्रीय सहमति अनुसार नै मुख्यमन्त्रीमा माओवादीका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने निर्णय एमालेले गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले पनि शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरी नियुक्तिको प्रक्रियामा अगाडि बढाइएको बताए ।
सपथ ग्रहण आज माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएपछि मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ । प्रदेश प्रमुख सचिवालयले मुख्यमन्त्रीको सपथ विहीवार नै खुवाउने तयारी गरेपनि प्राविधिक कारण जनाउँदै शुक्रवार ३ बजे गर्ने जनाएको छ ।
प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहीबार १९:२०