पोखरा, ३ फागुन । प्रदेश नं ४ को प्रदेशसभाको बैठकले सभामुखमा नेत्रनाथ अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
आजको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुख पदका लागि अधिकारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्यहरू हरि चुमान रहेका थिए भने समर्थकमा किरण गुरुङ रहेका थिए ।
सभामुख पदमा निर्वाचित भएकामा बधाई दिँदै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका बैठकलाई सु–सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य श्रेष्ठले सो प्रदेशको मुख्य मन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरिएको प्राप्त पत्र पढेर सुनाएका थिए ।
संविधान एवं संघीयताको कार्यान्वयन प्रमुख प्राथमिकतामा
नवनिर्वाचित प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संविधान एवं संघीयताको कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
प्रदेशसभा बैठकबाट निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीसँग उनले आवश्यक कानून निर्माणसहित समृद्धिका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
सभामुखको जिम्मेवारीसँगै आफूले पक्ष वा प्रतिपक्ष कसैको नभई सबैलाई सन्तुलन मिलाएर साझा भूमिका निर्वाह गर्दै जाने बताए ।
सभामुख पदमा रहँदासम्म साझा भएर प्रस्तुत हुने बताउँदै आजैबाट पार्टीको कुनै पनि औपचारिक जिम्मेवारीमा नरहेको उल्लेख गरे ।
प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहीबार १६:४२