सुर्खेत, २ फागुन । पुरानो गाउँ क्या राम्रो ठाउँ स्टेजबाट यो गित गुञ्जिने बित्तिकै प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सवमा वरीपरी छरीएर बसेका सुर्खेतबासी एकाएक उठेर झुम्मिन थाले । गायक तथा नायक यश कुमारको प्रस्तुतीको प्रतिक्षामा बसेका सुर्खेतबासी उनको प्रस्तुतीसँगै उत्साहित हुन पुगेका थिए ।
नायक तथा गायक यश कुमारले प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सवमा आफ्नो प्रस्तुती गर्दा माहोल निकै तातिएको थियो । यश कुमारले नआउ तिमी मेरो सामु गित गाउँदा दर्शकहरुको हुटिंगले गर्दा वीरेन्द्रनगरको रंगशाला कुनै रंगमञ्च भन्दा फरक थिएन।
गायक यश कुमारले पुरानो गाउँ, नआउ तिमी मेरो सामु, तिमिलाई कुनै पल लगाएतका गित गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए भने रामचन्द्र काफ्ले, शशि रावल, रेश्मा पुन, लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुतीले युवा पुस्तालाई आकर्षित गरेको थियो ।
प्रदेश नं. ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सवमा आज प्रणय दिवसको अवसरमा अरु दिन भन्दा फरक दृश्य थियोे ।
युवापुस्ताका लागि विशेष दिन मानिने प्रणय दिवसका अवसरमा महोत्सवमा पनि युवा पुस्ताहरुको जमात निकै जमेको देखिन्थ्यो । महोत्सव आयोजक पक्षले पनि आज प्रणय दिवस विशेष सांगितिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम सार्वजनिक गरेको थियो । राष्ट्रिय कलाकार यश कुमार, रामचन्द्र काफ्ले, शशि रावल, रेश्मा पुन, लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुतीले युवा पुस्तालाई आकर्षित गरेको थियो ।
यस क्षेत्रको पर्यटन तथा कृषि र लघु उद्यम समेतको विकास र विस्तार गर्नका लागि लगाइएको महोत्सवमा ३ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र करिव १५ करोड बराबरको कारोबार हुने अनुमान भएको महोत्सवका संयोजक पदम बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार महोत्सवमा अन्तर्रा्िष्ट्रय स्टलहरुदेखि विभिन्न राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रमहरु समेत रहेको छ ।
प्रदेशको बलियो आधारको रुपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानीखनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका लागि पहिलो पटक प्रदेशस्तरीय महोत्सव गरिएको उनको भनाई छ ।
महोत्सवमा राष्ट्रिय तथा चर्चित स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहेको छ भने यसले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने छ । महोत्सव माघ २६ देखि फागुन ८ गतेसम्म संचालन हुने आयोजकको भनाई छ ।
प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार १९:२९