युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । नेपाल अधिराज्यभरी कूल १ सय १५ पर्दा पाएको फिल्मले शुक्रवार सुखद ओपनिङ गर्दा शनिवार बम्पर कलेक्सन गर्यो । आइतवारबाट सिंगल र मल्टिप्लेक्समा दर्शकको उपस्थिति सुखद छ ।
आज सोमबार महाशिवरात्रीको सार्वजनिक विदामा दर्शकको उपस्थिति सुखद थियो भने भोली माया दिबस भएका कारण ‘कृ’ को कलेक्सन केही माथि हुने निर्माण यूनिटको आशा छ । अनमोलको क्रेजले फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुगेको छ । नव-नायिका अदिती बुढाथोकी, नायक अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।
रिलिजको ‘फर्स्ट डे’ देखि फिल्मले राम्रा र नराम्रा दुवै कमेन्ट पाइरहेको छ । कतिले फिल्मलाई ‘भयंकर’ राम्रो बोलेका छन् भने कतिले ‘झुर’ सम्म भनेका छन् । यो प्याकेजमा हामी फिल्म ‘कृ’ को राम्रो र नराम्रो दुवै पक्ष केलाउने प्रयास गर्दैछौं ।
राम्रो के ?
१. फिल्मको सबैभन्दा बलियो पक्ष भनेको छायांकन हो । छायाँकार पुरुषोत्तम प्रधानको काम सबैभन्दा उत्कृष्ट छ । उनले क्यामेरा खेलाउन काहीँ कतै चुकेका छन् । छायांकनका कारण पनि फिल्मले धेरै हदसम्म राम्रो रेस्पोन्स पाएको छ ।
२. द्वन्द्व निर्देशक चन्द्र पन्तको काम तारिफयोग्य छ । ‘लभरब्वाई’ को भूमिकामा खुब रुचाइएका अनमोललाई उनले एंग्री अवतारमा गज्जबले प्रस्तुत गर्न सफल भएका छन् । उनको द्वन्द्व निर्देशन हलिउड स्तरको लाग्छ ।
३. साउन्ड डिजाइनर उत्तम न्यौपानेको काम प्रशंसनिय छ । प्रत्येक दृश्यलाई झन दमदार बनाउन उनले गज्जबको ध्वनि सिर्जेका छन् ।
४. नायक अनमोल केसीले आफूलाई मिहिनेत गर्न सक्ने कलाकारको रुपमा उभ्याएका छन् । कसिलो शरीर बनाउन उनले सक्दो मिहिनेत गरेका छन् । उनको रोमान्टिक र एक्सन दुवै भूमिका हेरुहेरु लाग्छ ।
५. निर्माता द्वय सुवास गिरी र भुवन केसीले कुनै पनि दृश्यमा पैसा खन्याउन हिचकिचाएका छैनन् । लोकेशन, सेट, कलाकारको ड्रेसलगायतमा निर्माताले मनग्य पैसा खर्च गरेका छन् ।
नराम्रो के ?
१. फिल्मको सबैभन्दा कमजोर पक्ष भनेको कथा र निर्देशन हो । निर्माताले पैसा खन्याए झैँ निर्देशकले त्यसमा मिहिनेत गर्न सकेका छैनन् । निर्देशक सुरेन्द्र पौडेलले अनमोलको लुक्स परिवर्तन गर्न मात्र बढी समय खर्चेको देखिन्छ । यस्तै, पटकथाकार द्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले पनि आफ्नो काम देखाउन चुकेका छन् ।
२. ‘कृ’ को अर्थ बदला (रिभेन्ज) हुन्छ । फिल्मले बदलाको कथा त बोल्छ तर त्यसमा नयाँ शैली प्रयोग गरिएको छैन । फिल्मको कथा पुरानै ढर्राबाट ग्रसित छ ।
३. अनमोलले ज्यान बनाउन जति मिहिनेत गरेका छन् सोही अनुसार उनले अभिनयमा दुःख नगरेको देखिन्छ । विराज भट्टले बोल्ने जस्ता केही वजनदार डाइलगहरुमा अनमोल ‘म तिमीलाई माया गर्छु’ भन्ने शैलीमा प्रस्तुत भएका छन् ।
४. ‘यति यति पानी’ बोलको गीत रमाइलो छ । तर, ‘मैले जानी नजानी’ गीतको टाइमिङ गलत छ । अदितीको यादमा अनमोल तड्पिएका छन् तर गीत रोमान्टिक छ । दर्शक कन्फ्यूज हुन्छन् । यो गीतमा स्कटल्याण्डका दृश्यभन्दा काभ्रेको तोरी बारी राम्रो हुन सक्थ्यो ।
५. स्टाइलिस भिलेन निगम बाबा (अनुपविक्रम शाही) बारम्बार चार करोडको माल गायब भयो भन्दै रिसाइरहेका छन् । तर, अन्तिमसम्म पनि त्यो माल कसले पचायो काहीँ कतै देखाइएको छैन ।
६. अनमोल क्लबबाट फर्किएपछि हजुरआमा लक्ष्मी गिरीले घरमा केटीहरुको लाइन लगाइदिएकी छिन् । यो दृश्य निकै हास्यास्पद छ ।
७. अनमोलको अगाडि अदिती बुढाथोकीको लुक्स आकर्षक देखिन्न । अदितीको मेकअपमा कमजोरी देखिन्छ । कतिपय दृश्यमा उनको गाला खुम्चिएको छ । कतै अनमोलमाथी हावी हुने डरले अदितीलाई यस्तो देखाइएको त होइन ?
८. ‘मैले जानी नजानी’ गीतमा प्रो-स्टाइलको विज्ञापन र अनमोलसँग फोनमा कुरा गर्दैगर्दा निगम बाबाको ड्राइभरको अगाडि टाटा कम्पनीको ट्यागोर गाडीको होडिङ बोर्ड टाँसिएको छ । यो जर्बजस्ती राखिए झैँ लाग्छ ।
प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलवार १९:४३