हेटाैडा, २८ माघ । प्रदेश नम्बर ३ का सांसदहरुले नव निर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिदै गरिमामय पदमा रहदा आफुलाई निष्पक्ष र स्वतन्त्र रुपमा प्रस्तुत गरि सिंगो सदनको साझा व्यक्तित्व बन्न सुझाव दिएका छन् ।
आईतबारको पहिलो बैठकबाट निर्विरोध निर्वाचित उपसभामुख राधिका तामाङ्ग र सनिबारको बैठकबाट निर्विरोध निर्वाचित सभामुख सानु श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै गर्दा सांसदहरुले उनीहरुको स्वतन्त्र र निष्पक्ष भुमिकाका लागि सचेत गराएका हुन् ।
एमाले संसदीय दलका नेता डोरमणि पौडेलले दलगत स्वार्थबाट माथि उठेर काम गर्न सके ५ बर्ष भित्र जनताको मुहारमा हाँसो र सम्वृद्धि ल्याउन सक्ने बताए । उनले निश्चित मापदण्ड बनाएर विकासको गतिलाई अघि बढाउनुको साथै योजनाबद्ध रुपमा नया शहर बसाउने काम गर्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले ठुलो संभावना र ठुलै चुनौतिको बीचमा रहेकाले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले जनताको सम्वृद्धि साच्चिकै व्यवहारमा ल्याउनका लागि जनप्रतिनिधिले बोलि र व्यवहार एउटै गरेर अघि बढ्नुपर्ने बताए ।
विवेकशील साझा पार्टीका प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले सभामुख र उपसभामुखको गरिमामय पदमा रहदा आफुलाई निष्पक्ष र स्वतन्त्र रुपमा सिंगो सदनको साझा व्यक्तित्व बन्न सक्षम हुनुहुनेछ भन्ने अपेक्षा आफुले लिएको बताए ।
राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङ र राप्रपाकी रिता माझीले पनि सभामुख र उपसभामुखलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिदै दिदै निष्पक्ष भुमिका निर्वाह गर्न सुझाव दिइन् । आईतबार बसेको प्रदेशसभाको पहिलो बैठकले माओवादी केन्द्रकी राधिका तामाङलाई उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । त्यस्तै शनिबार बसेको प्रदेशसभा बैठकले सभामुखमा सानु श्रेष्ठलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । सभामुख र उपसभामुखमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
बैठकले प्रदेशसभा नियमावलि मस्यौदाका लागि ११ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिमा राजेन्द्र प्रसाद पाण्डे, दिपक निरौला, सरस्वती बस्नेत, बुद्धिमान माझि, संञ्चन खनाल, छिरिङ दोर्जे लामा, राधा घले, रमेश पौड्याल, सुरेन्द राज गोसाईँ, रिना गुरुङ्ग, रिता माझी छन् । समितिलाई कार्य सुरु गरेको मितिले १५ दिनको समय दिईएको छ । बैठक अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: २८ माघ २०७४, आईतवार १६:४२