सुर्खेत, २० माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ह्दयराम थानीले प्रदेश नं. ६ को समृद्धिका लागि जुट्ने सवै पक्षसंग कांग्रेसको समर्थन र साथ रहने बताएका छन् । उनले प्रदेश समृद्धिमा अवरोध गर्ने र आफूखुशी गर्नेहरुको विरुद्ध सशक्त कार्यक्रम सहित जनताका माझ पुग्ने चेतावनी पनि दिएका छन् ।
रिपोर्टर्स क्लव नेपालको ६ नं. प्रदेश कार्यालय स्थापनाको पहिलो वक्ताका रुपमा बोल्दै कांग्रेस नेता थानीले निकै कष्टका साथ प्राप्त गरेको ६ नं. प्रदेशको समृद्धिका लागि कांग्रेस सवैसँग सहकार्य र समवन्य गर्न तयार रहेको उल्लेख गरे । ‘यदि कसैले मनोमानी र एकलौटी गर्न खोजे तिनीहरुका विरुद्ध सशक्त प्रतिकार गरिन्छ,’ उनले भने । समृद्धि गर्न सक्ने आँट भएमा ५ बर्षभित्र ६ नं. प्रदेश सवैभन्दा उत्कृष्ट हुने दावी पनि उनले गरेका छन् । प्रदेश विकासका लागि जलविद्युत, पर्यटन र जडिबुटीलाई प्राथमिकता दिनुपर्ने भन्दै नेता थानीले गर्न सक्ने आँट भएमा छिटो विकास गर्न सकिने उल्लेख गरे ।
दुई पार्टी मिलेका कारण प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसको पराजय स्वाभाविक भएको उनको भनाई थियो । एमाले र माओवादी मिलेपछि कांग्रेस हार्नु स्वाभाविक भएको भन्दै उनले यो ५ बर्ष कांग्रेस प्रतिपक्षमा रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।
प्रदेश समृद्धिका लागि सवैको बराबर भूमिका हुने भन्दै कसैलाई बाइपास नगर्न पनि उनले सुझाव दिएका छन् । सुर्खेत प्रदेश नं. ६ को राजधानीसमेत भएकोले यहाँ रहने मन्त्रालयहरुलाई एकै स्थानमा राख्नका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । काठमाडौंको सिंहदरवारजस्तै सुर्खेतमा पनि सवै
मन्त्रालयहरु एकै स्थानमा रहनका लागि अहिलेदेखि नै गृहकार्य थाल्न उनले आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लवको प्रदेश कार्यालय स्थापना
यसैवीच रिपोर्टर्स क्लवको ६ नं. प्रदेश कार्यालयको शनिवार स्थापना गरिएको छ । वीरेन्द्रनगर ४ स्थित भैरवस्थानमा उक्त कार्यालयको स्थापना गरिएको हो ।
स्थापना कार्यक्रममा पूर्वमन्त्री थानी पहिलो वक्ताका रुपमा आमन्त्रित थिएभने पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती, पूर्व अध्यक्ष मोतीलाल पौडेल लगायतको उपस्थिति थियो । क्लवका प्रदेश अध्यक्ष लंकराज धमलाले आगामी दिनमा समय सन्दर्भ अनुसार पत्रकार सम्मेलन गरिने जानकारी दिए ।
प्रकाशित मिति: २० माघ २०७४, शनिबार १८:२७