सुर्खेत, ९ पुस । कांग्रेस नेता एवं पूर्वमन्त्री ह्दयराम थानीले नेपाली कांग्रेस अव घरदैलोमा आउने बताएका छन् । निर्वाचनपछि मतदाताको घरदैलोमा पुगेर धन्यवाद व्यक्त गर्ने क्रममा आइतवार बराहताल गाउँपालिका वडा नं. ९ र १० अन्तर्गत लेखगाउमा आयोजित कार्यक्रममा नेता थानीले शान्ति र निकास तथा विकासका लागि कांग्रेस अव घरदैलोमा पुग्ने बताएका हुन् ।
उनले जिल्ला तथा समग्र प्रदेशको विकासका लागि आफूले विगतमा पनि काम गरेको र अहिले पनि त्यो काम नछोड्ने जनाए । जनताको आवश्यकता अनुसारको विकासको पहल गर्न आफूले कहिल्यै नछोड्ने उनको भनाइ छ । निर्वाचनको परिणामपछि नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्दै थानीले आगामी चुनावलाई लक्षित गरेर जनताको घरदैलोमा पुग्न पनि सुझाव दिए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले मत परिणाम अनुसार कांग्रेस पराजित भएपनि सैद्धान्तिक रुपमा जितेको बताए । उनले जिल्लाको विकासको लागि आफूहरुको पहल र खबरदारी संधै रहिरहने उल्लेख गरे । कांग्रेस गाउँसभापति प्रदीप जिसीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस कोषाध्यक्ष अनन्त पौडेल, वडा अध्यक्ष झक्कड पुलामी, तरुण दलका लोकेश आरसीलगायतले बोलेका थिए ।
प्रकाशित मिति: ९ पुष २०७४, आईतवार १८:३२