तेह्रथुम, २९ मंसिर । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा थिए । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई-पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर ।
एक पटक मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको सम्झिए । एक पटक घरै बसेर रोजगार बन्न प्रयास गर्ने निधो गरे । अन्ततः दरिलो जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धनआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् कार्कीले ।
त्यतिवेला तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर थालेको व्यावसायिक गाईपालनबाट उनले अहिले घरैमा बसेर वार्षिक रु १२ लाखभन्दा बढी कमाउँछन् । उनको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । अहिलेसम्म कार्कीको गाई फार्ममा झण्डै रु २० लाख लगानी भइसकेको छ । शुरुमा आफैँले ऋण काढेर रु तीन लाख लगानीले थालेको व्यवसायमा अहिले रु दुई लाख थपेका छन् । प्राइम बैंक र कृषि विकास बैंकबाट रु पाँच-पाँच लाख कर्जा लिएङ्का छन् ।
फार्म सञ्चालनका लागि स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताए । दुई वर्षमा उनले फार्मको खर्च कटाएर रु १० लाख ऋण चुक्ता गरेका छन् । फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर रु ४५ देखि रु ५५ सम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक रु एक लाख २० हजार आम्दानी गर्छन् ।
“रु ६० हजारसम्म बचत हुन्छ,” उनले भने । विदेशबाट फर्किएपछि गाउँमा गाईपालन व्यवसायको थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन गोरखासम्म पुगेको कार्कीले सुनाए । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि कार्की त्यसतर्फ लागेका हुन् ।
“विदेशमा धेरै मिहेनत गर्नुपर्छ,” कार्कीले भने– “घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नुपर्छ ।” उनी स्वदेशमै गरेको कमाइबाट सन्तुष्ट छन् । “यहाँ कमाइ पनि छ, जोखिम पनि छैन, सुखदुःख साँट्ने परिवार पनि साथै छ,” उनले भने ।
रोजगारी नपाएर विदेशिएका कार्कीले अहिले आफ्नो गाई फार्ममा तीन जनालाई रोजगारी समेत दिएका छन् । गाईको रेखदेख, घाँस काट्ने, खोले र दाना पानी खुवाउने, दुहुनेलगायत काम उनीहरुले गर्छन् । गाईको संख्या बढाएर १५ वटा पु¥याउने उनकाे लक्ष्य छ ।
कार्कीले गाईपालनका लागि ५० किलो घाँसको बीउ ल्याएर खेती गरेका छन् । सरकारी अनुदानबापत अहिलेसम्म घाँसको बीउ मात्र पाएको उनको भनाइ छ । युवालाई कृषि पेशामा प्रोत्साहन गर्न सरकारले कुनै कार्यक्रम नल्याएको कार्कीको गुनासो छ ।
प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार १५:३५