पोखरा, १३ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा लगानीको वातावरण तयार गरी समृद्धि हासिल गर्न काँग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली काँग्रेस कास्कीद्वारा आज पोखराको अमरसिंह चौरमा आयोजित चुनावीसभामा उनले कम्युनिष्ट शासनमा विदेशी लगानी भित्रन नसक्ने र यहाँको लगानी पनि बाहिर जाने बताए ।
वाम गठबन्धनका नाममा एकदलीय कम्युनिष्ट अधिनायकवाद ल्याउने षडयन्त्र भइरहेको बताउँदै उनले नेपालमा आर्थिक समृद्धि र विकासका साथै जनतालाई स्वतन्त्रता प्रदान गर्न केवल काँग्रेसले मात्र सक्ने जिकिर गरे ।
“नेपाली काँग्रेस स्वदेशी एवं विदेशी सबैले पत्याउने पार्टी हो”– प्रधानमन्त्रीले भने, “नेपालमा राणा शासन, पञ्चायती शासनका साथै राजतन्त्रको तानाशाहलाई अन्त्य गराउँदै यही पार्टीले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको हो ।”
नेपालको वर्तमान संविधानले सबैलाई स्थान दिएको भए पनि यसलाई खारेज गरी एकदलीय कम्युनिष्ट तानाशाही व्यवस्था ल्याउन षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा र समृद्धिका लागि काँग्रेसका पक्षमा मतदान गर्न आग्रह गरे।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रको पक्षमा नरहेको बताउँदै देशमा लोकतन्त्रको रक्षा, स्थायित्व र समृद्धि कायम गराउन काँग्रेसलाई जिताउनुपर्ने बताए ।
वाम गठबन्धन चरम अवसरवादीताको एकरुप भएको चर्चा गर्दै उनले कम्युनिष्टले देशमा केवल समस्या मात्र जन्माउने गरेको उल्लेख गरे ।
देशमा बेरोजगारी एवं गरिबीको अन्त्य गर्दै स्थायित्व र शान्तिको बाटोमा लैजान काँग्रेसलाई जिताउन उनले आग्रह गरे ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसका नेतृत्वमा देशले विकासका क्षेत्रमा धेरै फड्को मारिसकेको र आगामी दिनमा पनि धेरै काम गर्न बाँकी रहेको बताए ।
काँग्रेसको विजयले देश र जनताको भाग्य कोरिनेमा उनको जोड थियो । नेपाली काँग्रेस केन्द्रीय चुनाव प्रचार समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसका पक्षमा देशभर जनलहर बढिरहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले देशमा लगानीको वातावरण सुनिश्चित गरी आर्थिक समृद्धि कायम गराउन काँग्रेसको नेतृत्व आवश्यक भएको बताए ।
उद्योगपति विनोद चौधरीले उद्योगधन्दा कलकारखानाको विकासका माध्यमबाट युवालाई स्वदेशमा नै रोजगारीका अवसर दिनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताए ।
नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीकातर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्रमशः कानून, न्यान तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे र शुक्रराज शर्मा तथा तीनवटै क्षेत्रअन्तर्गतका प्रदेशसभा सदस्य उम्मेदवार जीवन परियार, कृष्ण केसी, गुरु बराल, बिन्दुकुमार थापा, शारदा पौडेल र भोजबहादुर गुरुङ, आमन्त्रित केन्द्रीय सदस्यद्वय कुमार खड्का र सूर्यबहादुर केसी लगायतले विकास र समृद्धिका लागि काँग्रेसका पक्षमा मतदान गर्न आग्रह गरे ।
उक्त अवसरमा विगतमा विभिन्न पार्टीमा रही काँग्रेसमा प्रवेश गर्नेलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।
प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार १८:१३