काठमाडौ २८ असोज । उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन्। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं आएका छन्।
प्रमुख राजनीतिक दलको पार्टी कार्यालय र संसदीय दलका कार्यालय सुनसान भएका छन् भने पार्टीका शीर्ष नेताहरूको घरमा बिहानदेखि बेलुकासम्म भिडभाड हुने गरेको छ।
सत्तारूढ दल नेकपा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट गर्न पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ।
बोर्डले १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभाका उम्मेदवार छनोट गर्नेछ। समितिले समानुपातिकतर्फको उम्मेदवार पनि छनोट गर्नेछ।
कांग्रेसभित्र चारवटा गुट सक्रिय छन्। पार्टीभित्र नेताहरूको योग्यता र क्षमताको आधारमा भन्दा पनि गुटगतरूपमा उम्मेदवार छनोट हुने गरेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको छ। पार्टीभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भागवण्डा हुने गरेको छ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका संसदीय बोर्ड सदस्य पूर्णबहादुर खड्काले निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज २९ गतेसम्म समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गरेर बुझाउने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘देशभरबाट सिफारिस भएर आएका उम्मेदवारमध्ये समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउने गृहकार्य भइरहेको छ, प्रत्यक्षतर्फ पनि छलफल शुरू भएको छ, केही समय लाग्छ।’
पार्टी कार्यालयमा लाग्नुपर्ने भीड नेताका घर–घरमा लाग्ने गरेको छ नि भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा खड्काले भन्नुभयो– ‘यो नेतालाई सोध्ने प्रश्न होइन, देशभरबाट काठमाडौं टिकट लिन आएका उम्मेदवारलाई सोध्ने कुरा हो।’
सभापतिसमेत रहनुभएका प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भीड व्यवस्थापन गर्न नै गाह्रो हुने गरेको छ। ‘बिहानदेखि नै गेटमा लाइन लाग्छ, समूह–समूह बनाएर आउनेको भीड भनिसाध्य नै छैन’, प्रधानमन्त्री निवासका एक कर्मचारीले भने– ‘वालुवाटारमा नेताहरूको घुइँचो भनिसाध्य नै छैन, दिनहुँ भीड बढेको बढ्यै छ।त्यसै त भीडभाड हुने वालुवाटारमा अहिले निर्वाचनमा टिकट लिनको लागि देशभरबाट सिफारिस भएर आएका सम्भावित उम्मेदवारको ठूलो भीड लाग्ने गरेको छ।’
त्यसै गरी वरिष्ठ नेता रामचन्द्र पौडलको निवास बोहोराटार, महामन्त्री डा. शशांक कोइरालालगायत बोर्डमा सहभागी नेताहरूको घरमा बिहानदेखि बेलुकासम्म नै भीड लाग्ने गरेको छ।
नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही पनि सुनसान बनेको छ।
एमालेभित्र पनि पार्टी कार्यालयबाट भन्दा पनि नेताका घरघर टिकट लिनको घाउनेको भीड लागेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहानदेखि नै भीड लाग्ने गरेको छ।
समूह–समूहमा आउने भीड व्यवस्थापन गर्दै भेटघाटको समय मिलाउन सचिवालयलाई हम्मे–हम्मे परेको छ। सचिवालयका एक सदस्यले भने– ‘सबै पार्टीका नेता कार्यकर्ता आउनुहुन्छ, कसैलाई पनि भेटन मिल्दैन भन्ने कुरा भएन।’ एमालेभित्र वरिष्ठ नेता झलनाथ खनाल निवास डल्लु, नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा पनि सिफारिस भएर आएका सम्भावित उम्मेदवारको भीड लाग्ने गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पनि निकै भीड लाग्ने गरेको छ। केही दिनअघि सम्पन्न पोलिटव्युरोको प्रशिक्षण कार्यक्रममा काठमाडौं आएका सबै नेता राजधानीमा केन्द्रित भएका छन्। देशभरबाट उम्मेदवार सिफारिस भएपछि अध्यक्ष प्रचण्डलाई भेटेर टिकट पाउनका लागि दबाब दिनेहरूको भीड लाग्ने गरेको छ। त्यसै गरी नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, उपप्रधान एवं पराराष्ट्रमन्त्रीसमेत रहनुभएका कृष्णबुहादर महरा निवासमा पनि नेताको घुइँचो लाग्ने गरेको छ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले उम्मेदवार छनोट गर्नका लागि शीर्ष तहमा गृहकार्य भइरहेको बताउनुभयो। कार्यदलले टुंगो लगाएपछि मात्र को कहाँ उम्मेदवार हुने भन्ने विषयको टुंगो लाग्छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चुनावको बेलामा टिकटको लागि नेताको निवासमा जानु परम्परा नै बनिसक्यो।’
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनाव तालमेलसँगै पार्टी एकता गर्ने ६ बुँदे सहमति भएसँगै दुई पार्टीबीच ६०⁄४० को भागबण्डा गर्न कार्यदललाई तीन दिनको समय दिए पनि एक साता बितिसक्दा समेत टुंगो लाग्न सकेको छैन। देशभरबाट दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेका छन्।
प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार ०७:५५