काठमाडौ ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणमा आएका नेपाली समकक्षी शेरबहादुर देउवासँग पूर्वनिर्धारित कार्यक्रमअघि नै बुधबार साँझ भेटवार्ता गरे । बुधबार नै दिल्ली आएका प्रधानमन्त्री देउवालाई चियापानका लागि सेभेन रेसकोर्सस्थित आफ्नो निवास बोलाएर मोदीले नेपालसँग सम्बन्ध सुधार भएको स्पष्ट सन्देश दिएका छन् ।
राजकीय भ्रमणको कार्यतालिकाबेगर दायाँ–बायाँ भेट्ने चलन प्रायः हुँदैन । ‘सरप्राइज दिने मोदीजीको विशेषता नै हो, अहिले त्यही गर्नुभएको हो,’ उनीबारे जानकार एक भारतीय अधिकारीले भने । प्रधानमन्त्री देउवा र मोदीबीच बुधबार भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम थिएन । बरु, उनीहरूबीच बिहीबार तीनपटक भेट्ने कार्यक्रम थियो । बिहीबार बिहान ९ बजे राष्ट्रपतिभवनमा आयोजना हुने गार्ड अफ अनरमा, ११ बजेदेखि ११ः३० सम्म सीमित अधिकारीसहितको रेस्ट्रिक्टेड मिटिङमा, दुवै पक्षका १५–१५ जना रहने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा र त्यसपछि दिवाभोजमा प्रधानमन्त्रीद्वयको भेटवार्ता तय भएको थियो । तर, बुधबार बिहान मोदीले देउवासँग साँझ एक्लै भेट गर्ने इच्छा गरे । र, त्यसअनुसार भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले त्यसको चाँजो मिलाए ।
‘दुई प्रधानमन्त्रीहरूबीच बिहीबारको छलफलका लागि सहज हुने गरी वार्मअप मिटिङ भएको हो, यस्तो भेटवार्ताले दई पक्षबीच अड्किएका विषयहरू समाधानका लागि सहयोगी हुने अपेक्षा छ,’ भेटवार्ताबारे नेपाली राजदूत उपाध्यायले भने । उनले मोदीले चियापानका लागि बोलाएका कारण देउवा भेटका लागि गएको बताए ।
‘बिहीबार भेट हुने त छँँदै छ, त्यही पनि अनौपचारिक रूपमा बसौँ, चिया खाउँ भनेर मोदीजीले बोलाएपछि प्रधानमन्त्रीजी जानुभएको हो,’ उपाध्यायले भने । करिब आधा घन्टाको उक्त भेटवार्ताका लागि भारतीय पक्षले बुधबार बिहान मात्रै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायमार्फत अनुरोध गरेको थियो । उपाध्यायले दुई शीर्ष नेताबीचको यस्तो भेटवार्ताले दुवै देशबीच विश्वासको स्तर बढ्ने र राजनीतिक तहमा हार्दिकता थपिने बताए ।
देउवा र मोदीबीच बुधबार नै भेट भएपछि बिहीबार उनीहरूबीच एक्लाएक्लै वार्ता नहुने नेपाली दूतावासका एक अधिकारीले बताए । तर, हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीबीच आफूबाहेक दुईजना अधिकारीसहितको बैठक बस्नेछ । सो बैठकमा नेपालबाट परराष्ट्रसचिव शंकरदास बैरागी र भारतका लागि राजदूत दीपकुमार उपाध्याय रहेनछन् भने भारतबाट विदेशसचिव एस जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी रहनेछन् । उक्त बैठक सकिएपछि बिहान ११ः३० बजे प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । पञ्चेश्वरलगायत परियोजनाबारे प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा छलफल हुनेछ ।
आज के–के छ कार्यक्रम ?
बिहीबार बिहान ९ बजे राष्ट्रपतिभवनमा भारतीय सेनाको सम्मान गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपतिभवन फर्किने उनीसँग बिहान १०ः३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । स्वराजले देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । देउवा र मोदीबीच ११ः३० बजे हैदराबाद हाउसमा सीमित अधिकारीसहितको आधा घन्टा भेटवार्ता हुनेछ । त्यसलगत्तै देउवा र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता १२ बजेदेखि १ घन्टा हुनेछ ।
१ः१० मा देउवा र मोदीले पत्रकारहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । दुई देशबीच सम्झौतामा हस्ताक्षर हुनेछ, भारतबाट बिजुली आयात भएको घोषणा पनि हुनेछ । २ः४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः३५ मा अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्रीलाई भेट्नेछन् । त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् । साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले भेट्ने कार्यक्रम छ । त्यसपछि इन्डिया फाउन्डेसनले आयोजना गरेको अन्तत्र्रिmया तथा नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।
दुई प्रधानमन्त्रीबीच के भयो कुराकानी ?
प्रधानमन्त्रीद्वय देउवा र मोदीबीच साँझ ६ बजे भेटवार्ता भएको थियो । बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायलाई छोेटो सम्बोधन गरेपछि देउवा प्रधानमन्त्रीनिवास सेभेन रेसकोर्स लागेका थिए । भेटलगत्तै मोदीले ट्विट गर्दै देउवालाई स्वागत गरेको औपचारिक जानकारी दिएका थिए । उनले लेखेका छन्, ‘हाम्रो नजिकको र मित्रवत् छिमेकी नेपालका सम्मानीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु ।’
नेपाल–भारत सम्बन्धका जानकार तथा पूर्वराजदूत प्रोफेसर एसडी मुनीले यस्ता भेटवार्तामा परियोजनाका विषयमा छलफल नहुने, तर समसामयिक राजनीतिक विषय र एक–अर्काका उच्च संवेदनशील चासोबारे छलफल हुने चलन रहेको बताए । ‘उनीहरूबीच के–के छलफल भयो भन्ने कुरा उनीहरूले नभनेसम्म हामीले अड्कलबाजी गर्न मुस्किल छ,’ मुनीले भने, ‘मेरो अड्कलबाजीमा नेपालमा बढिरहेको चीनको प्रभाव र विशेषगरी दोक्लामका विषयमा पक्कै छलफल भएको हुन सक्छ, संविधान संशोधन असफल भएको विषयमा पनि छलफल भएको हुन सक्छ । र, नेपाली भूमि जुनसुकै कारणले भारतविरुद्ध प्रयोग हुन नदिने विश्वसनीय प्रतिबद्धता भारतका तर्फबाट खोजिएको हुनसक्छ ।’ उनले यी विषय संवेदनशील भएको र हल्का रूपमा हेर्न नहुने पनि बताए । ‘परियोजनाबारे सम्बद्ध अधिकारीले जे सहमति गर्छन्, त्यसलाई सहमति दिने मात्रै हो, एक्लाएक्लै भेटमा राजनीतिक विषयमा नै छलफल हुने हो, सबै विषयमा छलफल भएको हुनसक्छ,’ मुनीले भने ।
नेपाल–भारत सम्बन्धका जानकार पूर्व मेजर जनरल अशोक मेहताका अनुसार संविधान जारीपछि प्रधानमन्त्री भएर पहिलोपटक कांग्रेस शीर्ष नेता दिल्ली आएको र कांग्रेसको महत्व दीर्घकालसम्मका लागि रहेको सन्देश मोदीले दिएका हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ०६३ को जनआन्दोलनपछि दिल्ली आएयता कांग्रेसका प्रधानमन्त्री भारत आएका छैनन् । गिरिजाप्रसादपछि प्रधानमन्त्री भएका सुशील कोइराला भारतको राजकीय भ्रमणमा नआई पदबाट हटेका थिए । त्यसपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा भारतको राजकीय भ्रमण गरेका थिए ।
‘नेपाली राजनीतिमा कांग्रेसको महत्व अहिले मात्र होइन, संसदीय निर्वाचनपछि पनि छ भन्ने सोच भारत सरकारको हुन सक्छ, त्यहीअनुसार उसले देउवालाई सम्मानमा कमी हुन नदिन र उनको महत्व थप स्थापित गर्न यस्तो भेटवार्ता आयोजना भएको हुन सक्छ,’ जनरल मेहताले भने । उनले सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्री अटलबिहारी बाजपेयीले एक्लाएक्लै वार्ता गरेको र विशेष रात्रिभोज आयोजना गरेको पनि स्मरण गरे ।
‘मेरो अनुमानमा नेपालमा भारतको चासोबारे मोदीले आफ्ना चासो राख्नुभयो र देउवाले मोदीलाई त्यसबारे आश्वस्त पार्नुभयो,’ मेहताले भने, ‘आसन्न निर्वाचनका लागि मोदीले सहयोग गर्ने आश्वासन दिनुभएको हुन सक्छ । संसदीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा मोदीले चासो राखेको हुन सक्छ ।’
दोक्लाममा गोर्खा सैनिक खटियो
भुटान र चीनबीच विवाद रहेको र हाल भारतीय सेना पुगेको विवादित दोक्लाम क्षेत्रमा भारतले गोर्खा सैनिक खटाएको छ । उत्तर–पूर्वी मेघालय राज्यको सिलोङमा रहेको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले सैनिक परिचालन गरेको हो । अहिले त्यहाँको चौथो बटालियनका ६० जना सैनिक चीन–भुटान सीमाक्षेत्रमा परिचालित छन् । प्रधानमन्त्रीको भारत भ्रमणकै समयमा उनीहरू सीमाक्षेत्रमा कार्यरत छन् ।
‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्सअन्तर्गत चार बटालियनको फौज त्यहाँ पठाइएको हो, त्यसमा स्वाभाविक रूपमा नेपाली नागरिक छन्,’ भारतीय गोर्खा रेजिमेन्टका पूर्वकमान्डर रहेका पूर्व मेजर जनरल अशोक मेहताले नयाँ पत्रिकासँग भने, ‘नेपालले तटस्थता कसरी कायम गर्छ भन्नेमा म हेरिरहेको छु ।’
यो राइफल्सका सैनिक बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध तथा भारतका तर्फबाट पाकिस्तानसँग कार्गिल युद्ध, चीनसँगको सीमायुद्ध, भुटानसँगको युद्धमा पनि खटिएका थिए । भुटानसँग सन् १८६४ देखि १८६५सम्म इस्ट इन्डिया कम्पनी बेलायतका तर्फबाट आठौँ गोर्खा राइफल्सले युद्ध लडेको थियो । संयोगवश भुटानको रक्षाका नाममा अहिले सोही राइफल्ससम्बद्ध नेपाली खटिएका छन् ।
नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायकले नेपालीहरू स्वेच्छिक रूपमा गोर्खा भर्ती हुँदै आएको हुनाले यसमा नेपालको तटस्थ नीतिलाई जोड्नु उपयुक्त नहुने बताए । ‘गोर्खा भर्तीलाई नेपाल सरकारले पर्यवेक्षण गरेको मलाई थाहा छैन, त्यसका लागि उत्प्रेरित गरेको पनि छैनजस्तो लाग्छ,’ नायकले तर्क गरे, ‘भारतीयहरू पनि अस्ट्रेलियन वा अमेरिकन आर्मीमा भर्ती भएको तथ्यांक भारत सरकारसँग हुँदैन । यसलाई अन्यथा लिनु आवश्यक छैन ।’
भारतका ७ वटा गोर्खा रेजिमेन्टअन्तर्गतका ३९ बटालियनमा नेपाली कार्यरत छन् । ‘५० जनाजति गोर्खा सैनिक पल्टन अदलीबदलीका क्रममा अहिले दोक्लाम क्षेत्रमा परिचालित भएका छन्, यो उनीहरूको नियमित ड्युटी हो,’ पूर्व जनरल मेहताले नयाँ पत्रिकासँग भने । उनले राजनीतिक रूपमा नेपालको तटस्थ अडान बाध्य रहेको अर्थमा भारतले बुझेको र यसबाट सम्बन्धमा केही फरक नपर्ने पनि उनले बताए ।
पाकिस्तानसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र कास्मिर तथा बर्मा, बंगलादेश र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतीय सेनामा नेपालीहरू परिचालित छन् । १९६२ को नेपाल–भारत–चीन युद्ध, १९९९ मा पाकिस्तानसँग भएको कार्गिल युद्धमा भारतीय सैनिकमा नेपाली नागरिक कार्यरत छन् । जानकारहरूका अनुसार सन् १९६७ मा सिक्किम चीन सीमावर्ती क्षेत्र नाथुलामा सुरुमा चिनियाँ सेनाको गोली लागेर एक भारतीय गोर्खा सैनिक मारिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले जितेका सबै लडाइँमा गोर्खा सैनिकको खुन बगेको भन्दै प्रशंसा गर्दै आएका छन् । उक्त राइफल्सको नारा ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ छ । उक्त राइफल्सअन्तर्गत ६ बटालियन छन् ।
प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार ०७:२३