काठमाडौ ३१ साउन । डा. गोविन्द केसीको ११औँ अनशन २२औँ दिन नाघेको छ । तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ । प्रधानमन्त्री व्यस्त भएको भन्दै सोमबार वार्ता टोलीका सदस्यले समेत डा. केसी समर्थकलाई सम्पर्क गरेनन् ।

बार्ता समिति गठन भएको सुरुवाती दिनमा केही छलफल भएपनि पछिल्ला दिनमा दुई पक्षबिच गंभिर छलफल हुन नसकेको केसी पक्षिय बार्ता समितिका सदस्य डा. अभिषेकराज सिंहले बताए । आइतबार बार्तामा बोलाएपनि माग पूरा गर्ने गम्भीरता नदेखिएको उनको भनाइ छ । ‘सोमबार त हामीले फोन गरेका थियौं,’ उनले भने, ‘सरकारी बार्ता टोलीले चासो नै दिएन । उनीहरु वार्ता टार्ने प्रयासमा देखिन थालेका छन् ।’
दशौँपटक वार्तामा बस्दा २२औँ दिनमा सहमति भएको थियो । तर, त्यही सहमति कायम गर्न उनी फेरि अनसन बस्दा २२ दिन नाघ्दा पनि सरकारले सुनेको छैन । उता, डा. केसीको स्वास्थ्य भने कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् । ‘छातीमा सोमबार समस्या देखिएपछि निकैबेर उहाँ छटपटाउनुभयो, समर्थक पनि आत्तिन थालेका थिए तर, संयोगबस नराम्रो केही भएन,’ सहयोगी डा. सिंहले भने ।
डा. सिंहका अनुसार सोमबार दिउँसो आइसियुमा लैजान खोजिए पनि केसीले मानेनन् । ‘सामान्य अवस्थामा शरीरमा सेतो रगतको मात्रा ४ हजार देखि ११ हजारको बिचमा हुनुपर्छ,’ सिंहले भने, ‘अहिले उहाँको शरीरमा २ हजारको मात्रामा सेतो रगत छ । मुटुको धड्कन ६० देखि ७० हुनु पर्छ तर उहाँको ३ सय पुगेको छ ।’
चिकित्सा शिक्षा विद्येयक संसदबाट तत्काल पास गराउनु पर्ने मुख्य माग राखेर केसी ९ साउन देखि अनसनमा छन् । डा. केसीले माग पुरा गर्ने भन्दै संसदको महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिले केसीका बार्ताटोलीको सहमतिमै विद्येयक पास गरिसकेको छ । तर, माथेमा आयोगको मर्मविपरित विधेयक संशोधन भएको भन्दै डा. केसी अनसनरत छन् ।
केसीको अनशन शृंखला
पहिलोे अनशन ४ दिन, दोस्रो अनशन ६ दिन, तेस्रो अनशन १४ दिन, चौथो अनशन ८ दिन, पाँचौँ अनशन १२ दिन, छैटौँ अनशन १४ दिन, सातौँ अनशन ११ दिन, आठौँ अनशन १५ दिन, नवौँ अनशन १२ दिन, दशौँ अनशन २२ दिन र एघारौँ अनशन २३ दिन जारी ।
प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलवार ०७:२३