काठमाडौँ, २८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालयअन्तर्गतका राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा शनिवार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिन
राष्ट्रपति भण्डारीले “युवामा गरिने लगानीले नै देशमा आर्थिक समृद्धि हुन्छ, दिगो विकास तथा शान्ति कायम हुन्छ,” भन्दै युवा नीति, रणनीति तथा दूरदृष्टि (युथ भिजन)लाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरिन ।
युवावर्गलाई स्वदेशभित्र नै स्वरोजगारी, रोजगारी तथा उद्यमशील बनाउन उनीहरुको क्षमताअनुसारका सीप, प्रविधि र आर्थिक सहयोग प्रदान गर्न जरुरी रहेको चर्चा गर्दै उनले भनिन् – “सरकारका नीति तथा कार्यक्रम पनि युवामैत्री हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले गुणस्तरीय उच्च शिक्षा, प्राविधिक सीपले युवालाई व्यावसायिकता एवं उद्यमशीलता बनाउने हुँदा स्वदेशमै यी कुरा पूरा गर्न सकिएमा कामको खोजीमा युवा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन
युवा आर्जित विप्रेषणले अर्थतन्त्र दिगोरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले राष्ट्रिय पूँजीका रुपमा युवा जनशक्तिलाई स्वदेशभित्र अवसरका ढोकाहरु खुल्ला गरिदिनसक्नु पर्ने बतइन ।
मन्त्रालयले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको छ । पछिल्लो जनसंख्याअनुसार कूल जनसंख्यको ४० प्रतिशत अर्थात् एक करोड सात लाख युवा रहेका छन् ।
सो आवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा प्रतिभा÷उद्यमी सम्मान दश जना र ट्यालेन्ट हन्ट सम्मान नौजना युवालाई प्रदान गरेकि छन ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा नीति, रणनीति तथा दूरदृष्टिलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई स्वदेशभित्र नै उद्यमशीलता बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले एकवडा १० उद्यमी कार्यक्रमलाई मन्त्रालयले कार्यान्वयन गरेको जानकारी दिँदै जागिरखानुभन्दा उद्यमशील बन्न युवा आग्रह गरे । रासस
प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार १५:५२