बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयोग
काठमाडौं । राजधानीमा १५औं बिमस्टेक बैठक सुरु भएको छ । बिहीबार र शुक्रबार २ दिन हुने बैठकको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा तयारीका लागि वैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको १८औं बैठक (एसओएम) बसिरहेको छ । बैठकको अध्यक्षता परराष्ट्रसचिव शंकरदास बैरागीले गरिरहेका छन् । बैठकमा बिम्स्टेकको १४औं बैठकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ विषयमा छलफल गरी एजेन्डा तयार गर्नेछ ।
बैठकमा भारत, भुटान, बंगलादेश, थाइल्यान्ड, म्यानमार र श्रीलंकाका वैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी छन् । १५औं मन्त्रीस्तरीय बैठकले मुख्य गरी यातायात सञ्जाल, जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुषमा स्वराज, श्रीलंकाका विदेशमन्त्री रवि करुणनायके, बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुदअली र भुटानका विदेशमन्त्री दाम्चो दोर्जी अपराह्न काठमाडौं आइपुग्नेछन् ।
थाइल्यान्ड र म्यानमारबाट भने उपविदेशमन्त्रीको सहभागिता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दक्षिण र दक्षिणपूर्वी एसियाका ७ मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ देखि नेपालले गर्दै आएको छ ।
प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार ११:२१