सुर्खेत, २५ साउन । जिल्ला समन्वय समिति सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरुले बुधवार सपथ खानुका साथै पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित प्रमुख छविलाल सिग्देल र उपप्रमुख देवी भट्टराईलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीले सपथ खुवाएका थिए भने प्रमुख सिग्देलले अन्य सदस्यहरुलाई सपथ खुवाएका थिए । उनीहरुले मुलुकको संविधानभित्र रही देश र जनताको पक्षमा काम गर्ने प्रणसमेत गरेका छन् ।
सपथ ग्रहणलगत्तै प्रमुख सिग्देल र उपप्रमुख भट्टराईले आ—आफ्नो पदभारसमेत ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले स्वागत गर्दै पदभार ग्रहण गराएका थिए । सपथ तथा पदभार ग्रहण कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुराँगाईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै संविधानले प्रदान गरेको अधिकारहरुलाई नवनिर्वाचित जनप्रतिनिधिहरुले गम्भीरताका साथ पालना गर्नुपर्ने सुझाव दिएका छन् । उनले सुर्खेतका जनप्रतिनिधिहरुलाई केन्द्रमा समन्वय गरेर पनि अघि बढ्न जोड दिए।
जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीले जनप्रतिनिधिहरुले स्थानीय तहका जनतालाई सहजताका लागि सबैसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले जनताले विश्वास गरेर पठाएकोले जनप्रतिनिधिहरुले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले प्रदेश नं. ६ को इज्जतका लागि जनप्रतिनिधिहरु कर्तव्य पालन गरेर अघि बढ्नुपर्ने बताए ।
सपथ ग्रहण गरेपछि नवनिर्वाचित प्रमुख छविलाल सिग्देलले समृद्ध सुर्खेत बनाउनका लागि योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धतटा जनाए । उनले यहाँका सवै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरेर जिल्लाको विकासको काम गर्ने उल्लेख गरे ।
उपप्रमुख देवी भट्टराईले सुर्खेतलाई प्रदेश नं. ६ को केन्द्र बनाउनका लागि आफूहरुको भूमिका रहने बताइन् । साथै स्थानीय तह तथा कर्मचारीहरुवीच समन्वयपनि गरिने उनले जनाइन् ।
कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानीय विकास अधिकारी अमृत लम्साल, एमाले उपाध्यक्ष अमृत विसी, नेकपा माओवादी केन्द्रका संयोजक कृष्ण जिसीलगायतले जिल्लाको समग्र विकास गर्न समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका थिए । जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसको प्यानलले एकलौटी जितेको थियो ।
प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार १७:१६