सुर्खेत, २४ साउन । सुर्खेत जिल्लालाई पर्यटकीयस्थलमा चिनाउन संरक्षण, सम्वद्धर्नका लागि जनप्रतिनिधिहरुले आ–आफ्ना ठाउँमा गुरुयोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ सुर्खेतको आयोजनामा मंगलबार वीरेन्द्रनगरमा भएको स्थानीय सरकार पर्यटन नीति र कार्यक्रम विषय अन्तरक्रियामा सहभागि जनप्रतिनिधिहरुले सुर्खेत जिल्लालाई पर्यटकीय स्थलको रुपमा चिनाउने प्रतिवद्धता गरेका हुन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले सुर्खेत जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनका लागि पर्यटकीय एवं धार्मिक स्थल कांक्रेविहारलाई आफ्नै पहिचानका साथ विकास गर्नका लागि विशेष पहल गरिने बताएका छन् । उनले पर्यटन क्षेत्रलाई खोजी खोजी संरक्षण गर्नुका साथै विकास गर्ने तर्फ लाग्ने बताए । प्रदेश नम्बर ६ को छैठौ राजधानीका रुपले हेरिने सुर्खेतलाई पर्यटकीय क्षेत्रमा कार्यक्रमको नीति ल्याइसकिएको नगरप्रमुख सुवेदीले जनाए । उनले भने, ‘वीरेन्द्रनगरका वडाहरुमा पार्कहरु निर्माण गर्ने छौ, र पहिले नै भएका पार्कहरुलाई संरक्षण गर्नेतर्फ लाग्ने तयारीमा छौ ।’
सुर्खेत विमानस्थलमा नियमित हवाई चल्न नसक्दा कर्णाली जाने पर्यटकहरु कम भएको र सुर्खेतमा पर्यटकहरुको बास बस्नका लागि सुविधा सम्पन्न होटलहरु नभएकाले पनि पर्यटकहरुको वृद्धि हुन सकेको नगरप्रमुख सुवेदीले बताए । उनले हवाई मैदान निर्माण, चिडीयाखाना, देउती बज्यै पार्क, गढीमा भ्यु टावर निर्माण, तिलपुरमा होमस्टे स्थापना लगाएतका कामहरु गुरुयोजना बनाएर सम्पन्न गर्ने बताएका छन् ।
यस्तै गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले गुर्भाकोट नगरपालिकामा रहेको खटाङ क्षेत्रलाई विकास र विस्तार गर्नका लागि ३० लाख बजेट छुट्याइएको बताएकी छिन् । उनले नगरपालिकाको वडा नम्बर ४ मा रहेको दुर्वन डाँडाबाट दाङ, वीरेन्द्रनगर उपत्यका, बाँके बर्दिया लगाएतका जिल्ला अवलोकन गर्न सकिने भएकाले उक्त स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि बजेट छुट्याइएको बताइन् ।
पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तदेवि रेग्मीले पश्चिममा रहेको पञ्चपुरी नगरपालिका धार्मिक र पर्यटकीय क्षेत्रका हिसाबले धनी रहेको बताउँदै भेरी र कर्णालीको दोभानमा मन्दीर निर्माणका लागि ५ लाख र दहतालको संरक्षण र विकासका लागि १० लाख बजेट छुट्याइएको बताइन् ।
यस्तै बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले बराहताल संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिएकी छन् । उनले बराह गाउँपालिकामा होमस्टे सञ्चालनका लागि आवश्यक तालिमको आयोजना र महोत्सव सञ्चालन गरिने नीति र कार्यक्रम रहेको बताइन् ।
यस्तै चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले चौकुनेमा पर्यटकीय विकासका लागि प्रयाप्त बजेट विनियोजन गरिएको र पहिचान भन्दा बाहिर रहेको पर्यटकीय स्थलहरुको खोजी गर्नका लागि कार्यक्रम रहेको बताए ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्माले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहहरु पर्यटन पत्रकार संघ सँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा स्थानीय सरकार प्रमुख, उपप्रमुख, निजी क्षेत्रका अगुवा, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष, यातायात व्यवसायी व्यवसायहरुको सहभागिता रहेको थियो भने उनिहरुले पर्यटकीय क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार १७:५५