भैरहवा २३ साउन । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीसँग विमानस्थल निर्माण परियोजनाले ठेक्का प्रक्रिया रद्ध गर्ने अन्तिम तयारी गरेको छ । निर्माणको काममा सन्तोषजनक सुधार नभए ठेक्का रद्ध गर्नेसम्मको चेतावनी पत्र यस अगाडि पटक पटक बुझाएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले जानकारी दिए ।
‘उनीहरुको काममा कुनै सुधार आउन सकेन, मासिक शून्य दशमलव ५ प्रतिशत प्रगति छ’, शर्माले भने, ‘निर्माण कम्पनीकै कारणले काम गर्न सकिरहेको छैन, अफ्टेरो के मा परेको छ भनेर कारण देखाउन हामीले पटक पटक पत्राचार गरेको तर उनीहरुले कुनै सुधारका काम गर्न सकेनन्, त्यसकारण बिकल्पको रुपमा अर्को टेण्डर प्रक्रियामा जाने तयारीमा छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ढिला सुस्ती भएको जनगुनासो बढेसँगै बिभिन्न क्षेत्रहरुबाट परियोजना माथि निश्चित समय भित्र निर्माण कार्य सक्न दवाव बढेको छ ।
चिनियाँ कम्पनीले आर्थिक कारण देखाउँदै काम गर्न नसकेको परियोजना प्रमुख शर्माले बताए । स्थानीय सप्लायर्सहरुलाई रकम भुक्तानी नगरेको बजारमा गुनासो बढी आए पछि उनीहरुसँग काम गर्न कोही ईच्छुक नहँुदा चिनियाँ कम्पनीले लेवर लगायत आवश्यक कच्चा पदार्थ समेत जुटाउन सकिरहेको छैन् । मासिक ६ प्रतिशत काम सम्पन्न गर्नु पर्नेमा पछिल्लो समय कम्पनीले शून्य दशमलव ५ प्रतिशतका दरले मात्र काम गरिरहेको छ ।
दैनिक कम्तिमा ५ सय जना मजदुरले काम गरेको हुनु पर्ने र त्यही अनुपातमा हेबि इक्युपमेण्ट सञ्चालनमा आएको हुनु पर्नेमा ३०÷३५ जना मजदुरबाट मात्र काम भएको छ । विमानस्थल निर्माणका लागि सबकण्ट्रयाक्टरका रुपमा नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिलाई दिएकोमा लेनदेनमा विवाद भएपछि चिनियाँ कम्पनी आफंैले विगत पाँच महीनादेखि विमानस्थल निर्माणको काम गर्दै आएको छ ।
नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रा.लिले २७ प्रतिशत काम सम्पन्न गरी छाडेपछि चिनियाँ कम्पनीले बिचको अवधिमा विमानस्थलको करीब ५० प्रतिशत काम सम्पन्न गर्नु पर्ने थियो ।
चिनियाँ ठेकेदार कम्पनी आर्थिक समस्यामा परेका कारण काम गर्न नसकेको सरोकारवालाहरुको भनाई छ । चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनी भएकाले निजी कम्पनीले जस्तै आफूखुसी रकम खोजेर काम गर्न नसकेको उक्त कम्पनीका प्रतिनिधिले बताएका छन् ।
विमानस्थल परियोजनाले चिनियाँ कम्पनीसँगको ठेक्का तोड्ने र अर्को टेण्डर प्रक्रियाका लागि डकुमेण्टहरु तयार गरिरहेको बताएको छ । एशियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा शुरु भएको विमानस्थल निर्माणको कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले ३१ डिसेम्बर, २०१४ मा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । एडीबीको ऋण सहयोगमा शुरु भएको उक्त परियोजना २०१७ डिसेम्बर ३१ सम्ममा सक्ने सम्झौता भएपनि मधेश आन्दोलन लगायतका समस्याका कारण निर्माण समय थपिएको छ । कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैया“मा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
देशको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा रहेको यो विमानस्थलको निर्माण कार्य छिटो सम्पन्न गर्न भैरहवा वासीले माग गरेका छन् ।
प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार ०७:२३