काठमाडौं, २२ साउन । स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेलले स्वास्थ्य क्षेत्रका प्रतिफलहरुलाई कायम राखी जनस्वास्थ्य क्षेत्रमा थप प्रगति गर्ने बाचा गर्दै आफ्नो २६ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोख्रेलले अघिल्लो सरकारले ल्याएका सकारात्मक र औचित्यपुर्ण कार्यलाई निरन्तरता दिदै जनस्वास्थ्य क्षेत्रमा थप प्रति उन्मुख कार्ययोजना बनाई कडाईका साथ लागु गर्ने प्रतिवद्धता जाहेर गरे ।
तेश्रो पटक स्वास्थ्यमन्त्रालयको जिम्मेवारी लिएका मन्त्री पोख्रेलले अघिल्लो सरकारले तयार पारेको स्वास्थ्य विमा सम्बन्धी विधेयकलाई आफुले स्वीकारी अघि बढाएको भन्दै राम्रा कामको निरन्तरता नटुट्नेमा विश्वस्त हुन आग्रह गरे ।
मन्त्री पोख्रेलले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने हो भने बजेट बढाउनुपर्ने तर्क गरे । स्वास्थ्यलाई जनताको अधिकार र दायित्वका रुपमा स्थापित गर्ने नीति र कार्यक्रम ल्याई कार्यान्वयन गर्ने प्रतिवद्धता पनि उनले जनाए ।
संविधानले दिएको स्वास्थ्य अधिकारलाई दृढतापुर्वक कार्यान्वयन गर्दै आधारभूत स्वास्थ्यसेवा राज्यवाट निःशुल्क प्राप्त गर्ने अधिकारलाई सवै तहमा पुर्याउने, २५ जिल्लाका अतिगरिव र विपन्न परिवारलाई स्वास्थ्य विमा प्रिमियमको रकम तत्काल उपलब्ध गराई विमित गरिने, निजि स्वास्थ्य संस्थाको सेवा व्यवस्थापन मापदण्ड परिमार्जन गरी लागु गर्ने कार्यक्रम पनि मन्त्री पोख्रेलले अघि सारेका छन् ।
“स्वस्थ्य नेपाल–समृद्ध नेपाल” भन्ने नाराका साथ बहुपक्षिय साझेदारीमा सवै नीतिमा स्वास्थ्य नीतिको नीतिलाई अगाडि वढाउन स्वास्थ्य मन्त्रालयले संरचना सहितको संयोजनकारी भुमिका खेल्दै चुरोट र मदिरा जस्ता हानिकारक वस्तुहरुमा लाग्ने करमा वृद्घि गरार्ई त्यसवाट प्राप्त हुने रकम स्वास्थ्यमा लगाउने, स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी उपलब्ध गराउने, औषधि खरिद विक्रीलाई व्यवस्थित गर्ने, भुकम्पले क्षतिग्रस्त स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण जस्ता सुसासन र प्रशासकिय व्यवस्थापनका विषय २६ बुँदे प्रतिवद्धता पत्रमा समावेश छन् ।
जेष्ठ नागरिकको स्वास्थ्य संरक्षण गर्न ५०% छुट दिने व्यवस्थालाई कडाईका साथ लागु गर्ने तथा सिकलसेल एनिमिया, थालासेमिया र हेमोफिलिया लगायतका रोगहरुको अनुसन्धान तथा उपचारलाई प्राथमिकता दिने जस्ता प्रतिवद्धतामा समावेश विषयहरु सात दिनभित्र समय तालिका सहितको कार्ययोजना वनाई कार्यान्वयन प्रकृया अघि बढाइने बताइएको छ ।
यसैबीच मन्त्री पोख्रेलले व्यवस्थापिका संसदको सार्वभौम अधिकारलाई सम्मान गर्दै अनसन फिर्ता लिन डाक्टर केसीलाई आग्रह गरेका छन् ।
स्वास्थ्य चिकित्सा विधेयक सुधार सहित तत्काल पारित गर्नुपर्ने लगायत माग गर्दै डाक्टर केसी अनसनमा बसेको आइतबार दुई हप्ता पुगेको छ ।
प्रकाशित मिति: २२ श्रावण २०७४, आईतवार १९:४९