पोखरा, १८ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्रको मेरुदण्ड नै स्वतन्त्र न्यायपालिका भएकाले यसको गरिमा बढाउने गरी काम गर्ने दृढता व्यक्त गरेका छन् ।
उच्च अदालत बार इकाइद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सके मात्रै गरेका कामले आपूmलाई सन्तुष्टि दिने धारणा राखे ।
न्यायालयमा जनताको पहुँच बढाउँदै लगिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले न्यायाधीशको सेवा सुविधा र वृत्तिविकास मात्र नभई न्यायिक क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए ।
बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेको स्मरण गराउँदै उनले स्वतन्त्र, निष्पक्ष र निर्भिक भएर न्याय सम्पादनमा न्यायमूर्ति लागे न्यायालयको गरिमा बढ्दै जाने विचार व्यक्त गरे ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले चुस्त, दुरुस्त र छिटोछरिटो न्याय सम्पादनमा न्यायकर्मीहरु निरन्तर लागिरहने प्रण गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण थापाले न्यायाधीश नियुक्तिदेखि सरुवा–बढुवामा पारदर्शिता आवश्यकता रहेको बताए ।
बारका अध्यक्ष दयाराम गौतम, न्यायाधीवक्ता ईश्वरी बञ्जाडे, अधिवक्ता सोम श्रेष्ठ, गोविन्द पौडेल, शिव वाग्लेलगायतले न्यायिक क्षेत्रका बारेमा बाेलेका थिए । रासस
प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार १६:४४