काठमाडौं, १८ साउन । सांसदहरुले मुलुक माफियाहरुको चंगुलमा फस्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्ने सांसदहरुले ठुला ठुला भ्रष्टाचारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा उन्मुक्ति दिने योजना सिंहदरबारभित्र नै बन्ने गरेको भन्दै माफियाले मुलुक चलाएको आरोप लगाएका हुन् ।
सत्ताको नेतृत्व गरेकै दलका सांसदहरुले मुलुकमा चरम भ्रष्टाचार बढ्दा पनि सरकार तथा दलका नेताहरु तै चुप मै चुप भएर बसेको आरोप लगाए । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नक्कली भ्याट विल बनाएर ठग्नेहरुलाई सरकारले कारवाही नगर्दा राज्य अपराध बढेको भन्दै आक्रोश पोखे । एन सेल लाई लाभकर तिर्नबाट उन्मुक्ति दिलाउन सिंहदरबार भित्र नै पटक पटक तयारी भएको भन्दै उनले कर फच्र्यौट आयोगका पदाधिकारी राजनीतिक दलकै संरक्षणमा लुकेको दाबी गरे ।
नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचार सार्वजनिक भईसक्दा पनि मुलुकमा सुसासन कायम गर्ने जिम्मेवारी लिई बसेका सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको भन्दै उनले आक्रोश पोखे ।
बुढी गण्डकी जलविद्युत् आयोजना निर्माण ठेक्का सम्झौतामामा पनि जाल झेल र कमिसनको खेल भएको भन्दै सांसद गुरुङले नेपालका नेता, कर्मचारी र व्यापारी जुम्रा, जुका, किर्ना आदि परजिवी किरा भएको व्यङग्य गरे । काले काले मिलेर खाउ भाले भन्ने नेपाली उखान लाई चरितार्थ बनाउदै दलका नेताहरु नै भ्रष्टाचारीलाई संरक्षण गर्न लागेका बेला संसद तमासे बनेर बस्न नसक्ने भन्दै उनले उपयुक्त पहल गर्न सभामुखको ध्यानाकर्षण गराए ।
नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले जग्गा प्राप्ती ऐन २०३४ अनुसार सरकारले जग्गा उपलब्ध गराउनु पर्ने कानुन विरुद्ध नेपाल आयल निगमले जग्गा खरिदमा ठुलो भ्रष्टाचार गरेको भन्दै तत्काल त्यस्ता काम रोक्न आवश्यक पहल गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद विडारीले परिर्वतनको महसुस अझै पनि गरिब जनताले गर्न नसकेको भन्दै एउटै डाक्टरले एउटै विषयमा अनेकौ पटक अनसन बस्नुपर्ने अवस्था कसरी आयो भनि प्रश्न गरे । गरिबका छोरा छोरीले अझै पनि चिकित्साशिक्षा पढ्न सक्ने वातावरण बन्न नसकेको भन्दै उनले सरकार वास्तवमा गरिब जनताको सरकार बन्न नसकेको भन्दै आक्रोश पोखे ।
राजपाका सांसद ब्रिजेश कुमार गुप्ताले नेपाल आयल निगमभित्र जग्गा खरिदको नाममा ठुलो भ्रष्टाचार भएको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।
इन्धन भण्डारण गर्नका लागि भन्दै निगमले सात वटै क्षेत्रमा जग्गा खरिद गरेको थियो । निगमले जग्गा खरिद गर्दा परलमोल भन्दा कयौ गुणा बढी मुल्य तिरेर खरिद गरेको र विद्यमान ऐन पालना नगरेपछि निगम भित्रको भ्रष्टाचार छताछुल्ल भएको हो ।
प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार १५:०२