भक्तपुरं, १५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १९ वटा जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आईतबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले १९ वटा जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको हो ।
पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसको आधारमा १९ वटा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाइएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोही कार्यतालिका अनुसार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले एमालेले आईतबार १९ वटा जिल्लामा उम्मेदवारको टुंगो लगाएको हो ।
जस अनुसार भक्तपुरमा नवराज गेलाललाई प्रमुख र सरिता कुँवरलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।
त्यसैगरी रामेछापको प्रमुखमा प्रेमबहादुर खड्का र उपप्रमुखमा दिपा पाख्रिनलाई उम्मेदवार बनाइएको छ । रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, डोल्पाको प्रमुखमा शेरबहादुर बुढा, कालिकोटको प्रमुखमा प्रेमबहादुर शाही, जाजरकोटको प्रमुखमा गोरे कार्कीलाई उम्मेदवार बनाइएको छ । एमालेले इलाममा गणेश बराललाई जिल्ला समन्वय समितिको प्रमुखको उम्मेदवार बनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष ओलीले आफनो एक साता लामो तिब्बत भ्रमणको जानकारी गराउँदै तातोपानी नाका चाँडै खुल्ने विश्वास व्यक्त गरेका थिए ।
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सोमबार विहान ११ बजे पुनः स्थायी समिति बैठकमा बस्ने पनि सचिव भट्टराईले जानकारी दिए । एमालेले प्रतिनिधि सभा निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार १५:०९