सुर्खेत पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले नगरमा सडक पहुँच नभएकाले प्रत्येक वडामा बनाउने पहिलो योजना रहेको सुनाए । पर्यटकीय क्षेत्र मानिने दहताल, पञ्चपुरी मन्दिर, सालकोटको पाँचतले गुफाको पहिचान गराउने गतिविधि सञ्चालन गरिने उनको तयारी छ । उनले सालकोटमा रहेको स्वास्थ्यचौकी तथा विद्यापुर क्याम्पसलाई स्तरोन्नति गर्ने योजना बनाएका छन् ।
यसैगरी पञ्चपुरी नगरमा जमिन प्रशस्तै भएकाले कुलो, सिँचाइको व्यवस्था गरी स्थानीयले उत्पादन गरेको अग्र्यानिक तरकारी स्वयं उपभोग गर्न सक्ने, बचेको नगरबाहिर पठाएर आम्दानी लिन सकिने गरी योजना तयार गरेको थापा बताउँछन् । उनले कृषि, शैक्षिक, आवास गराउनका लागि १५/२० वर्षको गुरुयोजनै बनाउने प्रतिबद्धतासमेत गरेका छन् ।
गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले जनताका आधारभूत समस्या समाधान गर्ने बताएका छन् । उनी गुर्भाकोट नगरमा खानेपानीको व्यवस्था गर्ने, रोजगारको नयाँ अवसर खोजी गर्ने गरी काम थाल्ने बताउँछन् । सडक स्तरोन्नति, सिँचाइ, स्वास्थ्य, शिक्षालगायतमा आफ्ना प्राथमिकता रहेको उनले बताए । यसका लागि नगरमा असोजदेखि नै विकासका कार्यक्रम सुरु हुने जानकारीसमेत दिए ।
लेकबेंसी नगरपालिका प्रमुख गगनसिंह सुनारले गुणस्तरीय शिक्षा यहाँका वृद्धवृद्धा, महिला, तथा बालबालिकालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने योजना सुनाए । उनले चिङ्गाडको पुल बनाउने र आउँदो असोजबाट सडकको काम सुरु गर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी वृहत्तर गुरुयोजनासहित अघि बढ्ने तयारीमा छन् । नगरमा सहरी नापीको काम सुरु गर्न लागिएको उनको तयारी छ । यस्तै उनले नगरका सबै वडाका कार्यालय चाँडो व्यवस्थापनको तयारी थालेको सुनाए ।
वीरेन्द्रनगरका सयदिने कार्यक्रम
पहिलो चरणमा भएको चुनावमा निर्वाचित वीरेन्द्रनगर नगरपालिकाको युवा नेतृत्वले आमजनतालाई प्रत्यक्ष सुविधा पाएको अनुभूति गराउन र स्थानीय तहको सेवा प्रवाहलाई सहज र सरल बनाई प्रभावकारी रुपमा सञ्चालन गर्न सय दिनका १५ विशेष कार्यक्रम तय गरेको छ । जसका लागि सञ्चालन विधिसमेत तयार गरिएको छ ।

(टोटल मासिकबाट)
प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार ११:३८