साउन, १२ सुर्खेत । २०७१ साल साउन २९ मा आएको बाढीपहिरोबाट घरबार बिहिन भएर शिविरमा बस्दै आएका सुर्खेतका बाढीपीडितहरुले राहत पाउन नसकेर च्यातिएका पालमुनी बस्नु परेको छ भने उनीहरुको राहातका लागि आएको ७ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।
बाढीबाट प्रभावित भएको ३ वर्ष बिति सक्दा समेत सुर्खेतका बाढिपिडितहरुले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन् । सुकुम्बासी पुर्जा भएका र मालपोतमा रेर्कड नभएका १३२ जना बाढीपीडित राहत पाउनबाट बञ्चित छन् ।
बाढीबाट प्रभावित भएर शिविरमा ३ वर्ष बिताएका बाढीपीडितहरु सरकारले पठाएको राहत लिनका लागि सम्बन्धीत निकायमा नपुग्दा रकम फ्रिज भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका अनुसार बाढिपिडीतलाई राहत बाड्ने सुचना रेडियो, पत्रपत्रिकाको माध्यमबाट प्रशारण गर्दा समेत सुर्खेतका सबै बाढीपीडितहरुले राहत पाउन सकेनन् ।
जग्गा किन्ने ३९२ जना बाढीपीडित, घर बनाउने २५४ जना बाढीपीडितलाई राहत दिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका लेखाअधिकृत परशुराम पराजुलीले बताएका छन् ।
उनका अनुसार सुर्खेतमा अझै राहतका लागि फारम नभरेका १९२ जना बाढीपीडित रहेका छन् । फारम नभरेकै कारण र सुकुम्बासी पुर्जा भएका र मालपोतमा रेर्कड नभएका १३२ जना बाढीपीडित राहत पाउनबाट बञ्चित भएका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका अनुसार सुर्खेतका बाढीपीडितका लागि आएको १० करोड रुपैयाँमा ७ करोड १ लाख रुपैयाँ फ्रिज भएको छ भने २ करोड ९९ लाख रुपैयाँ वितरण भएको छ । २०७१ साल साउन २९ गते आएको बाढी पहिरोबाट सुर्खेतमा ९ सय ७० घरपरिवार विस्थापित भएका थिए जस मध्ये २ सय ५५ घरमा क्षति र ७ सय १५ घरपरिवार पूर्ण रुपमा क्षति भएका थिए ।
तीन किस्तामा राहत रकम दिइने भएकाले सरकारले पूर्ण र आवास क्षति भएकाहरुका लागि फरक फरक राहतको व्यवस्था गरेको थियो । जग्गा भएका तर
घर निर्माणका लागि निवेदन दिएका उनीहरूसँग जग्गाको लालपुर्जा नहुँदा र फारम नभरेका कारणले गर्दा रकम पाउनबाट वञ्चित भएका हुन् ।
घरबार गुमाएर महिला विकास प्रशिक्षण प्रतिष्ठानमा अस्थायी शिविरमा बस्दै आएका पिडितहरुले भने राहत बुझ्ने प्रक्रिया निकै झन्झटिलो भएको भन्दै राहत प्राप्त गर्न नसकेको बताएका छन् । उनीहरुले राहत रकम लिने प्रक्रिया झण्झटिलो भएको भन्दै आफुहरु राहतका लागि सम्पर्कमा नपुगेकाले आफुहरुको लागि आएको बजेट फ्रिज भएको बताएका छन् ।
बाढीपीडितहरुले सरकारले आफुहरुलाई उपलब्ध गराउने राहत पटकपटक गरेर दिदाँ आफुहरुलाई सास्ती भएको बताएका छन् । उनीहरुले राहत रकम किस्ता किस्तामा नभई एकै पटक दिदाँ एकमुष्ट रुपमा दिएमा जग्गा किनेर लालपुर्जा निर्माण गर्न सहज हुने बताएका छन् ।
प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार ०७:४२