रामपुर (पाल्पा), १० साउन । रोगले भित्रभित्रै गाँज्दै बाँचेका महिला हिजोआज आफ्ना समस्याबारे सम्बद्ध व्यक्तिसमक्ष राख्नसक्ने भएका छन् । वर्षाँैदेखि रोगसंग लडिरहेका पाल्पाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने क्रम बढदो छ ।
आफूभित्रका समस्या सधैँ आँशु र पीडामा सीमित राख्ने यहाँका महिला समयको परिवर्तनसंगै स्वास्थ्य संस्थामा आफ्ना समस्या राख्नुका साथै उपचार र सल्लाह लिन पुग्ने गरेका हुन् ।
श्रीमान्, घरपरिवारसंग पनि आफ्ना समस्या राख्न लजाउने उनीहरु अहिले छिमेकी दिदीबहिनीलाई पनि स्वास्थ्य जाँच तथा उपचारका लागि सरसल्लाह दिन पनि उत्तिकै सक्रिय छन् ।
विशेष गरेर पाठेघर खस्ने (आङ् खस्ने), यौनरोग, एचआइभी संक्रमित जस्ता रोगका लागि महिला स्वास्थ्य संस्थामा नै जान हिचकिचाउने गरेकामा पछिल्लो समय यस्ता रोगी बिस्तारै आउने क्रम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रोगबारे घरपरिवार र समाजमा थाहा भयो भने अरुले नराम्रो ठान्ने प्रवृत्तिले गर्दा पनि उनीहरुका समस्या बाहिर आउन नसकेको हो ।
छहराकी एक ३५ वर्षीया महिलाले लामो समयसम्म आफ्नो श्रीमान्लाई समेत लुकाएर राखेको पीडा यतिखेर अन्त्य भएको छ । दश वर्षदेखि पाठेघर खसेर समस्या झेल्नुभएकी उर्हाँ गाउँमै सञ्चालन भएको घुम्ती स्वास्थ्य शिविरमा जचाउँदा पहिचान रोग भएको औषधोपचार गरेपछि निको भएको बताए ।
“घरमा श्रीमान्लाई रोगबारे बताउन सकेकी थिइन्,गाउँमा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भयो” उनले भने, “मनमा डर र लाज मान्दै जचाउन जाँदा आँङ खस्ने समस्या पहिचान भयो र उपचार गरेपछि अहिले निको हँुदै गएको छ । ”
उनसंगै शिविरमा आउनुभएकी राई थरकी महिला पनि पाठेघर (आङ) खस्ने समस्याले सताएको थियो । जचाएर नियमित औषधि खाएपछि वर्षौसम्म लुकाएको रोग अन्त्य भएको उनले बताए ।
जचाएका मध्ये दुई जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ भेटिएको र ९२ जनाले विविध पाठेघर सम्बन्धी रोगको औषधोपचार गरिरहेका छन् । पिपलडाँडाकी अर्की एक ४० वर्षीया महिलाले यौनजन्य समस्या धेरै समयसम्म मनभित्रै लुकाएर राखिन् । “जस्तै पीडा भए पनि खप्नुप¥यो, श्रीमान्को इच्छा पूरा गर्नुप¥यो, यस्तो समस्या श्रीमान्लाई सुनायो भने त्यही कारणले अर्को विवाह गर्छन् कि भन्ने डरका कारण नसुनाएको” उहाँको गुनासो थियो ।
घरपरिवार, आफन्त कसैले पनि थाहा नपाउने गरी गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा गएर चिकित्सकलाई आफूले भोगेको समस्या बताएपछि लामो समयदेखि लुकाएको रोग पत्ता लागेपछि नियमित औषधि खाँदै जाँदा आफूलाई निको हुँदै आएको छ तर डर र लाजका कारण रोग पाल्नु व्यर्थ भएको उनको भनाइ छ ।
यस्तै चापपानीकी अर्की ४२ वर्षीया महिलाको पाठेघर तीन पटक खसिसकेको छ । उनले आफूलाई भित्रभित्र पीडा हँुदा पनि लाज र डरका कारण समयमा स्वास्थ्य संस्थामा रोगको परीक्षण नगर्दा पश्चाताप लागेको बताइन् । “आफ्नो समस्या श्रीमान्लाई सुनायो भने अर्की ल्याउँछन् कि भन्ने डरले बताउन सकिन”—“श्रीमान् र घरपरिवारमा मेरो समस्याबारे पत्तो छैन, स्वास्थ्यकर्मीको सल्लाहअनुसार अहिले नियमित औषधि खाँदैे छु” उहाँले भन्नुभयो ।
तीन पटक पाठेघर खसिसकेको हँुदा उहाँले स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाठेघरको मुखमा रिङ् राख्नुभएको छ । “लगातार तीन पटकसम्म पाठेघर खस्दा अलि खतरा हुने हँुदा सुरक्षाको लागि पाठेघरको मुखमा रिङ् राखेको छु,बेला बेलामा रिङ् बदलिरहने र नियमित औषधि खाँने गरिरहेको छु” उहाँले भन्नुभयो ।
पाल्पा जिल्लामा पछिल्लो पाँच वर्षयता वर्षेनी आङ् खस्ने, यौनरोग,एच आइभी संक्रमित रोगी महिला खुल्ने क्रम बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले समय समयमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेकाले पनि यी महिलालाई आफ्ना रोग जचाउन सहज भएको हो ।
आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न स्थानमा सञ्चालन भएको पाठेघर सम्बन्धी घुम्ती स्वास्थ्य शिविरमा ७२१ जनाको उपचार गरिएकामा ९ जनामा पोजेटिभ क्यान्सर देखा परेको पाइएको छ । ११ जनाको पाठेघरको मुखमा रिङ राखिएको छ भने सात सयएक जनाको पाठेघर सम्बन्धी अन्य उपचार गरिएको कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार अधिकांश महिलामा पाठेघर सम्बन्धी विभिन्न समस्याले सताउने गरेको पाइएको छ । कम उमेरमा बिहे गर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, छिटोछिटो बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, लामो समयसम्म पनि सुत्केरी बेथा लाग्दा पनि घरमै राख्ने, सुत्केरी अवस्थामा आराम नगर्ने रोग लाग्दा समयमा उपचार नगर्ने महिलामा पाठेघर सम्बन्धी समस्याले सताउने गरेको सूचना अधिकारी ज्ञवालीले उल्लेख गरे ।रासस
प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार १३:३५