काठमाडौं, ६ साउन । सबै स्थानीय तहमा ‘सार्वजनिक–निजी साझेदारी’ अवधारणा कार्यान्वयनमा आउने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच सबै स्थानीय तहमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा लैजाने समझदारी गरिएको हो ।
शुक्रबार सिंहदरबारस्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ र महासंघकी अध्यक्ष भवाणी राणाबीच भएको समझदारी पत्रमा सबै स्थानीय तहमा उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने व्यवस्था पनि गरिएको छ ।
स्थानीय तहमै रहेर मुलुकको आर्थिक समृद्धि र रोजगारीको अवसर सृजना गर्न सहकार्य गरेर अघि बढने गरी सरकारसँग समझदारी गरिएको महासंघकी अध्यक्ष भवाणी राणाले स्पष्ट पारिन् । उनले स्थानीय तहका सरकारसँग सहकार्य गरेर अघि बढने अवसर पाउनु आफूहरुका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिइन् ।
सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले सबै स्थानीय तहमा उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरी समझदारी गरिएको बताए । उनले उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक कच्चा पदार्थको निर्वाध उपयोग गर्न निजी क्षेत्रले पाउने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
समझदारी पत्रमा स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योग व्यवसायको स्थापना, विकास विस्तार तथा बजारीकरण गर्न सहकार्य गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित तुलनात्मक लाभ भएका उद्योगहरुलाई बढवा दिई रोजगारीको अवसर सृजना गर्नेलगायतका प्रतिवद्धता व्यक्त गरिएको छ ।
प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार १७:४४