सुर्खेत, ३१ असार । प्रदेश नम्बर ६ को सम्भावित केन्द्रको रुपमा हेरिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि कूल बजेट साढे ६५ करोड विनियोजन गरिएको छ । शनिबार आयोजित नगरसभामा नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी (ढकाल)ले सो बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख ढकालले प्रस्तुत गरेको ६५ करोड ५४ लाख ३ हजारको कूल बजेट मध्ये नगरपाकिाले गर्ने विकासतर्फ २९ करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाको आन्तरिक राजश्वतर्फ ५ करोड २९ लाख ९८ हजार र अन्तर स्थानीय वित्तीय हस्तान्तरणतर्फ ६० करोड २४ लाख ५ हजार गरी कूल ६५ करोढ ५४ लाख बजेट निर्माण गरिएको छ ।
नगरपालिकाले प्रत्येक वडामा वडास्तरीय विकास कार्यक्रमका लागि ८० लाखका दरले छुट्याएको छ । नगरका १६ वटा वडालाई ८० लाखका दरले कूल १२ करोड ८० लाख बिनियोजन गरिएको छ ।
यस्तै एक वडा एक गौरव पूर्वाधारको आयोजनामा उपत्यकाभित्र र उपत्यका बाहिरका वडामा पनि बजेट छुट्याइएको छ । जसमा उपत्यका भित्रका सहरी क्षेत्रमा रु.५० लाखका दरले र उपत्यका बाहिरका वडामा ३० लाखका दरले गरी कूल ७ करोड २० लाख छुट्याइएको उपप्रमुख भण्डारीले जानकारी दिइन्।
नगरपालिकाले ढल निकास गुरुयोजना तथा अस्थायी ढल निकायमा ७५ लाख, सडक मर्मतमा एक करोड, ल्याण्डफिलसाइट पहुँच माग निर्माण तथा पूर्वाधार निर्माणमा ७५ लाख सौय बत्ती जडानमा ३० लाख, उज्यालो नगर कार्यक्रममा ३० लाख, वीरेन्द्रनरको भौतिक विकास गुरुयोजना बनाउन १५ लाख, सहरी नापी एवं लगत कट्टा कार्यक्रममा २० लाख, आइटीमैत्री विद्यालय निर्माणमा ३० लाख बजेट बिनियोजन गरिएको छ । नगर पालिकाले सो आर्थिक बर्षमा ७६ वटा विकासे कार्यक्रम गर्नेछ ।
नगरप्रमुख देवकुमार सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सांसद दुर्गाकेशर खनाल, मप क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईं, मप विश्वविद्यालयका उपकूलपति प्रा.डा. उपेन्द्र कोइराला, कांग्रेस सभापति कमलराज रेग्मी, एमाले उपाध्यक्ष अमृत विसीलगायतले समृद्ध नगर बनाउन नमूना कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: ३१ असार २०७४, शनिबार १८:४६