ललितपुर, २५ असार । श्रीमहालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी भएको पचास वर्ष पुगेको उपलक्ष्यमा सहभागी पूर्वविद्यार्थीको भेलाले हरिरमण थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
एशोसिएशनका उपाध्यक्षमा नरबहादुर महर्जन, सचिवमा सुरजसिंह थापा, कोषाध्यक्षमा रीता श्रेष्ठ, सहसचिवमा प्रल्हद विष्ट तथा सदस्यमा देवेन्द्रदेव श्रेष्ठ, दीपककुमार श्रेष्ठ, शोभा श्रेष्ठ, श्रीभक्त बस्नेत, कमला श्रेष्ठ र रबीना श्रेष्ठ रहेका छन् ।
एशोसिएशनका सल्लाहकारमा पूर्वविद्यार्थीमध्येकै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चम्पक पोखरेल, समाजशास्त्री डा मदनराज विष्ट र नयनाथ पौडेल रहेका छन् ।
विसं २००४ मा प्राथमिक विद्यालयका रुपमा स्थापित सो विद्यालय २०२३ सालमा मावि भई प्रवेशिका परीक्षामा सहभागी हुँदै आएको थियो । हाल १२ कक्षासम्म सञ्चालन हुँदै आएको सो विद्यालयबाट २०७३ सालसम्म (एसइइसहित) दुई हजार ४२३ जनाले प्रवेशिका परीक्षा दिइसकेका छन् ।
भेलामा सहभागी पूर्वविद्यार्थीले विद्यालयको विकास र विस्तारका लागि आर्थिक सहयोग पनि गरेका थिए । आर्थिक सहयोग गर्नेमा दयाराम श्रेष्ठले आफ्ना बाबुआमाको सम्झनामा खेलकूदको विकासका लागि रु दुई लाख, विषम पोखरेल र बुद्धिबहादुर श्रेष्ठले गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि रु एक–एक लाख, मृगेन्द्र श्रेष्ठले विज्ञान विषयको प्रभावकारिताका लागि रु एक लाख तथा सन्देश श्रेष्ठसहित २०५२ सालका प्रवेशिका परीक्षामा सहभागी २० विद्यार्थीले रु. ५० हजार प्रदान गरेका थिए ।
विद्यालयका प्रअ नीलप्रसाद दुलाल, पूर्वप्रअ घनश्याम शर्मा, सल्लाहकार इ रामबहादुर श्रेष्ठ, पूर्व जिविस सभापति माधव पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिगोविन्द श्रेष्ठलगायतले प्राविधिक शिक्षा सञ्चालन गरिनुपर्ने, स्नातकोत्तरसम्मको कक्षा सञ्चालन र अनुसन्धानका कार्य अघि बढाइनुपर्ने, सङ्घीयतापछि विद्यालयलाई विश्वविद्यालयको रुपमा अघि बढाउन प्रयत्न गर्नुपर्नेजस्ता विषयमा सुझाव दिएका थिए । रासस
प्रकाशित मिति: २५ असार २०७४, आईतवार १४:१३