काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासको गतिलाई तीव्रता वैदेशिक लगानी आवश्यक भएको बताएका छन् । उनले राष्ट्रिय प्रतिष्ठामा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष दाहालले राजनीतिक स्थिरता भए वैदेशिक लगानीको वातावरण आफैं बन्ने पनि स्पष्ट पारे । विहीबार काठमाडौंमा आयोजित ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राजनीतिक स्थिरता नहुँदा राष्ट्रिय पूँजीसमेत आफै पलायन हुने गरेको दृष्टान्त पनि पेश गरे ।
अध्यक्ष दाहालले आन्दोलन, बन्द, हडताल, द्धन्द्धको अवस्था रहे स्वदेशी पुँजी परिचालन गर्न पनि कठिनाई हुने गरेको उल्लेख गरे । उनले नेपाली जनताको स्वतन्त्रता, आत्मसम्मान र नेपालको मौलिक पहिचानमा आँच नआउने गरी बैदेशिक लगानी भित्र्याउनु पर्ने पनि बताए ।
अध्यक्ष दाहालले बैदेशिक लगानी नभित्र्याई मुलुकको विकासको गतिलाई तीव्रता दिन नसकिने पनि स्मरण गराए । उनले मुलुकलाई आत्मनिर्भर बनाउने गरी काम अघि बढाए मात्रै बैदेशिक लगानीले राष्ट्रको हित गर्ने पनि उल्लेख गरे ।
अध्यक्ष दाहालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन भ्रष्टाचारको अन्त्य हुनुपर्ने पनि बताए । कार्यक्रममा विज्ञहरुले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राजनीतिक स्थिरता, लगानी मैत्री नीतिगत व्यवस्था र पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: २२ असार २०७४, बिहीबार १५:१२