धनगढी, १९ असार । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखका प्रत्यासी भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मोहनराज जोशीले बताए ।
यसैगरी, उपप्रमुखमा एमालेकी अञ्चला चौधरी छ हजार १४३ मत ल्याई विजयी भइन् । उनका निकटतम (माओवादी केन्द्र)का करुणा चौधरीले पाँच हजार ३७३ मत प्राप्त गरेकी छन् । वडा अध्यक्षमा नगरपालिकाको वडा नं १, २, ३, ५,७, र १० मा एमाले, वडा नं ६ मा कांग्रेस र वडा नं ४, ८, ९, ११ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
जानकी गापामा लोकतान्त्रिक फोरम विजयी
यसैबीच, कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदीपकुमार चौधरी पाँच हजार ५७ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गङ्गादेवी चौधरीले चार हजार २२१ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उमा महतो पाँच हजार ९७ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्य बटालाले चार हजार ३० मत प्राप्त गरेका छन् ।
कैलालीका १३ स्थानीय तहमध्ये पाँचवटाको अन्तिम चुनावी नतिजा आइसकेको छ । रासस
प्रकाशित मिति: १९ असार २०७४, सोमबार १८:३८