बैतडी, ११ असार । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बनेका छन् ।
पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका उनी नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहेका छन् ।
चन्दलाई प्रमुखमा छनौट गरेर काँग्रेसले पाटन नगरपालिकालाई प्रतिष्ठाको विषयको रुपमा लिएको सर्वत्र अनुमान गरिएको छ भने आफ्नो राजनीतिक जीवनको अनुभवलाई स्थानीयस्तरमा कार्यान्वयन गर्नका लागि उम्मेदवारी दिइएको उनको भनाइ छ ।
विगतमा पनि आफूले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व गरे पनि अहिले स्थानीयस्तरमै जनताको सेवा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ चन्दले भने–“ देशका १० वटा नमुना सहरमध्येको पाटन सहर पाटन नगरपालिकामा केन्द्रीय राजनीतिको अनुभव समेटेर काम गर्छु ”
यो क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगार,पर्यटन, भौतिक पूर्वाधारलगायतको विकासका लागि स्पष्ट खाँका छ । सोही खाकाअनुसार आफूले कामसमेत प्रतिबद्घता व्यक्त गरे ।
चन्द २०५३ सालको उपनिर्वाचनमा बैतडी क्षेत्र न– १ बाट सासंद भएर महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्रीसमेत बनेका थिए । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बैतडीका दुबै क्षेत्रबाट जितेपछि त्यहाँ भएको उपनिर्वाचनमा उनी बिजयी भएका हुन् ।
काँग्रेसले सो नगरपालिकामा उम्मेदवार छनोट गर्ने क्रममा १४ जनाको दाबी परेकामा अन्तिममा सबैले चन्दलाई सर्वसम्मत् उम्मेदवारको रुपमा अघि सारेका थिए
चन्दले आफ्नो उम्मेदवारी नगरको समग्र विकास र समृद्धिका लागि भएको बताएका छन् । उनले आफू प्रमुख भएपछि पाउने तलबभत्तालाई पीडित नागरिकको घाउमा मलम लगाउन प्रयोग गर्ने बताएका छन् । उनी भन्छन् – “हिजोका दिनमा पनि मैले समाजसेवा गरेको हुँ अव पनि सामाजिक काम गर्नेछु । जनताले मलाई जिताएमा मेरो अनुभवको आधारमा काम गर्नेछु सबै मतदातालाई भोट दिन अनुरोध गर्दै प्रचारमा हिँडेको छु ” चन्द भन्छन् ।
पाटनमा कडा प्रतिस्प्रदा हुने
पाटन नगरपालिकामा पूर्व सहायकमन्त्री केशव चन्दको उम्मेदवारी भए पनि त्यहाँ कडा रुपमा प्रतिस्प्रदा हुने देखिएको छ । सो पदमा नेकपा एमालेबाट कानुनका विद्यार्थी समेत रहेका युवानेता नरेशकुमार विश्वकर्मा प्रतिस्पर्दामा छन् । यस्तै (माओवादी केन्द्र) बाट पनि पत्रकार शङ्कर भण्डारी प्रतिस्पर्दामा छन् भने राप्रपाबाट रणबहादुर विष्ट भिड्दै छन् । विवेकशील नेपाली सर्मथक भरतराज पन्तले पनिस्वतन्त्ररुपमा प्रमुखमै उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: ११ असार २०७४, आईतवार १६:४९